काठमाडौं। नेपाल राष्ट्र बैंकले एक अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले सोमबार सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले ऋणपत्र बिक्री गर्न लागेको हो ।
बैंकले ९१ दिन अवधिको १० करोड रुपैयाँ बराबरको र तीन सय ६४ दिन अवधिको एक अर्ब ५६ करोड रुपैयाँको गरी कुल एक अर्ब ६६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दैछ ।ऋणपत्रको बोलकबोल अनलाइनमार्फत आज दिउँसो ३ बजे खुला हुनेछ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्था, संगठित संस्थाका साथै, सर्वसाधारणमध्ये सर्वाधिक अंक कबोल गर्नेलाई राष्ट्र बैंकले मंगलबार ट्रेजरी बिल जारी गर्नेछ ।बैंकको ९१ दिनसम्म म्याद भएको ट्रेजरी आगामी १८ माघमा परिपक्व हुनेछ भने ३६४ दिने ट्रेजरी १५ कात्तिक २०७९ मा परिपक्व हुनेछ । यसअघि ८ कात्तिकमा बैंकले पाँच अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो ।