यादवको समूह भत्काएपछि प्रचण्डले गरे एकताको प्रस्ताव
यादवको समूह भत्काएपछि प्रचण्डले गरे एकताको प्रस्ताव
    • बेल संचार

    • १६ कार्तिक २०७८, मंगलवार

सर्लाही। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्लाहीमा मन्त्री एवं जनता समाजवादी पार्टीका नेता महिन्द्र यादवका समर्थकहरु धेरैलाई आफ्नो पार्टीमा प्रवेश गराए। यादव समर्थक शिक्षकहरुको केन्द्रीय समिति नै कात्तिक १२ गते माओवादीमा प्रवेश गरेको घोषणा गरिएको थियो र नव प्रवेशी शिक्षक नेताहरुलाई दाहालले फूलमाला लगाएर स्वागत गरेका थिए।

आफ्ना समर्थकहरुको ठूलो हुल नै माओवादी प्रवेश गरेकोमा मन्त्री यादव वेखुस हुनु स्वाभाविक थियो उनले यो पार्टी प्रवेश रोक्ने प्रयाससमेत गरेका थिए। तर, यो प्रकरणले मधेशमा जसपासंग तनाव नआओस् भनेर दाहालले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव तथा नेता तथा हाल मन्त्री महिन्द्र यादवलाई पार्टी एकताको प्रस्तावसमेत गरेर चलाखी देखाए।

सर्लाहीमा लामो समयदेखि राजनीति गरेका मधेशका नेता रामेश्वर राय यादव विगत केही बर्षदेखि माओवादी पार्टीमा सक्रिय छन्। उनले सर्लाहीबाट संसदीय निर्वाचन पनि जितेर मन्त्री पनि बनिसकेका छन्। उनै रामेश्वर राय यादवले कन्भिन्स गरेर जसपा नेता महिन्द्र यादवसमर्थक शिक्षक संगठन नेपाल लोकतान्त्रिक शिक्षक संगठनको पूरै केन्द्रीय समितिलाई नै माओवादी प्रवेश गराएका थिए। र, उनीहरुलाई माला लगाउन पार्टी अध्यक्ष दाहाल सर्लाही पुगेका थिए। सर्लाहीको मोर्डन साइन्स कलेजको प्रांगणमा आयोजित एउटा सभामा १८ सदस्यीय सो संगठनको पूरै टोली प्रवेश भएको घोषणा गरिएको थियो।

मधेशका धेरै जिल्लामा संगठन बनाइसकेको सो संगठन आफ्ना नेता महिन्द्र यादव जसपामा गए पनि जसपाको शिक्षक संगठनमा नगई मन्त्री यादवलाई नै प्रमुख नेता मानेर आफैं क्रियाशील भएकै अवस्थामा कात्तिक १२ गते माओवादी प्रवेश गरेको हो।

यसरी प्रचण्डबाट फूलमाला पहिरिएर माओवादी प्रवेश गर्नेहरुमा सो संगठनका अध्यक्ष रामेश्वरप्रसाद यादव, उपाध्यक्ष रामविलास राय, महासचिव रघुनन्दन यादव, उपमाहासचिव देवीदत्त प्रसाद, सदस्य कृष्णकान्त राय, प्रदेश अध्यक्ष विश्वनाथ राय, केन्द्रीय सदस्य रामशेर पुलामी, तेजनारायण साह, हृदयना राय, नागेन्द्र प्रसाद यादव, किरण यादव, रासनारायण यादव, शंकरप्रसाद साह, मुकेश साह, जितेन्द्रप्रसाद सिंह, इन्द्रकान्त राय, दिगम्बर राय र किशोरी साहलगायतका छन्।

साताकाे चर्चित
सम्बन्धित