ताप्लेजुङ — पाथीभरामा दसैंको नौरथादेखि तिहारको भाइटीकासम्म ५५ हजार तिर्थयात्रीले दर्शन गरेका छन् । नौरथा सुरु भएको असोज २१ गते घटस्थापनादेखि कात्तिक २० गते बिहानसम्म ५५ हजार ५ सयले दर्शन गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए ।
भाइटिकाको दिन बिहान पनि ५५ तीर्थयात्री मन्दिर गएको काफ्लेले जानकारी दिए । यो अवधिमा सबैभन्दा बढी असोज २ गते ६ हजार ३ सयले पूजा गरेको काफ्ले बताउँछन् ।
कात्तिक २ गते ४ हजार ५ सय ५५जना दर्शनका लागि पुगेका थिए । पाथीभरा दर्शनका लागि यो सिजनमा असोज र कात्तिक महिनालाई उत्कृष्ट महिनाको रुपमा लिइन्छ । हिउँदमा फागुन र चैतमा सबैभन्दा बढी हुन्छन् । दुई वर्षअघि चैतमा एकैदिन १७ हजारले दर्शन गरेको तथ्यांक पाथीभरा क्षेत्र विकास समितिसँग छ । उच्च स्थानमा रहेको पाथीभरामा पैदल जानेले पँच किलोमिटर हिँड्नैपर्ने हुन्छ । हिँड्न नसक्नेका लागि बोक्ने मान्छेहरु प्रशस्तै हुन्छन् । उनीहरुले बच्चादेखि ठूला सम्मलाई बोक्छन् ।
सदरमुकाम फुङलिङबाट सुकेटारसम्म ८ किलोमिटर कालोपत्रे र सुकेटारदेखि काफ्लेपाटीसम्म १२ किलोमिटर कच्ची सडक रहेको छ । सुकेटारदेखिको कच्ची सडकमा भने १० देखि १६ जनासम्म अट्ने साना सवारी मात्रै सञ्चालन हुने गरेको छ ।
काफ्लेपाटीदेखि मन्दिरसम्मको दूरी ५ किलोमिटर छ । काफ्लेपाटीदेखि अढाई किलोमिटर दूरीमा रहेको माथिल्लो फेदीसम्म ठाउँठाउँमा बस्ने लज र खाने होटल रहेका छन् । बिहान उकालो चढ्न सजिलो हुने भएकाले अधिकांश तीर्थयात्री ३१ सय मिटर उचाईको माथिल्लो फेंदीमा गएर बस्ने गरेका छन् । देशका विभिन्न ठाउँबाट हेलिकोप्टरले पनि यात्रु ओसारिरहेका छन् । ताप्लेजुङ सदरमुकाम फुङलिङ, सुकेटार, पाँचथरको फिदिम, इलामको कन्याम, धनकुटाको भेडेटार र धरानबाट हेलिकोप्टर सेवा छ ।
मौसम खुल्दा विश्वका तेश्रो अग्लो हिमाल कञ्चनजंघा, संखुवासभामा रहेको मकालु लगायतका हिमश्रृङखला देख्न पाइने भएकाले यात्रुहरु रमाउने गरेका छन् । अब भने क्रमश: चिसो बढ्दै गएकाले पैदल आउने तीर्थयात्रीको संख्या घट्दै जाने पुजारी टीका पौडेलले बताए ।
पाथीभरामा सबैभन्दा बढी तीर्थयात्री झापाबाट आउने गरेका छन् । झापापछि सुनसरी, मोरङ र भारतको सिक्किमबाट आउने गरेको काफ्ले बताउँछन् । पछिल्ला वर्ष काठमाडौंबाट आउनेको संख्या पनि बढिरहेको छ भने यो सिजनमा प्रदेश २ बाट पनि उल्लेख्य संख्यामा तीर्थयात्री आएको क्षेत्र विकास समितिले जनाएको छ l copy ekantipur