औपचारिक भ्रमणका लागि प्रधानसेनापति भारत जाँदै
औपचारिक भ्रमणका लागि प्रधानसेनापति भारत जाँदै
    • बेल संचार

    • २३ कार्तिक २०७८, मंगलवार

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा भारतको चार दिवसीय औपचारिक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन् । उनी भारतका स्थल सेनाध्यक्ष जनरल एमएम नरवणेको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा निस्किएको हो । नेपाली सेनाको मध्य एयरबेश, गौचरमा उनलाई बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाई गरे ।

प्रधानसेनापतिको नियुक्ति भएपछिको उनको यो पहिलो विदेश भ्रमण हो । प्रधानसेनापति शर्मालाई भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिह्नबाट सुशोभन गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । भ्रमणका क्रममा महारथी शर्माले विभिन्न भारतीय उच्चपदस्थ पदाधिकारीसँग भेटघाट गर्नेछ ।

 

उनले आजै भारतीय रक्षा सचिव अजयकुमार, भारतीय चिफ अफ डिफेन्स स्टाफ जनरल विपीन रावत, भारतीय सेनाध्यक्ष जनरल नरवणे र भारतीय वायु सेनाध्यक्ष एयर चिफ मार्शल भिआर चौधरीसँग समेत भेटघाट गर्नेछन् । प्रधानसेनापतिको भ्रमण दल श्रीमती सुनिता शर्मासहित नौ सदस्यीय रहेको छ । महारथी शर्मा यही कात्तिक २६ गते स्वदेश फर्कनु हुनेछ ।

कामु प्रधानसेनापतिको कार्यभार कार्कीलाई

प्रधानसेनापति शर्माको भारत भ्रमणको अवधिभर उनको अनुपस्थितिमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नु हुने पनि जानकारी दिइएको छ ।

साताकाे चर्चित
सम्बन्धित