श्रममन्त्री भन्छन्- कतार प्रहरीमा रोजगारी गुम्न दिइन्नँ, कसैको सिण्डिकेट र ठगी चल्दैन
श्रममन्त्री भन्छन्- कतार प्रहरीमा रोजगारी गुम्न दिइन्नँ, कसैको सिण्डिकेट र ठगी चल्दैन
    • बेल संचार

    • २३ कार्तिक २०७८, मंगलवार

काठमाडौं । श्रम तथा रोजगारमन्त्री किसान श्रेष्ठले कतार प्रहरीमा नेपालले पाएको रोजगारी गुम्न नदिने र नेपाली युवामाथि ठगी हुन समेत नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कतारको आन्तरिक मामिला मन्त्रालयले कतार प्रहरीमा २०० जना नेपाली युवालाई भर्ना गर्न नेपाली दूतावासलाई पत्र पठाएको थियो । कतारले १० हजार नेपाली युवालाई प्रहरीमा भर्ती गर्ने बताइएको छ ।

तर, सरकारी कमजोरी र केही व्यवसायी तथा मेनपावर माफियाहरुको चलखेलका कारण रोजगारी अन्योलमा परेको छ । सीमित मेनपावरलाई कोटा तोकेर दिन चलखेल भइरहेको बेला श्रममन्त्री श्रेष्ठले सबै काम पारदर्शीरूपमा हुने बताए ।

नेपाल प्रेससँग कुरा गर्दै मन्त्री श्रेष्ठले कतार प्रहरीमा भर्ती प्रक्रियाको बारेमा आफूले सबै जानकारी लिएर रोजगारी गुम्न नदिनेगरी काम अघि बढाइने बताए । समयमै निर्णय नहुँदा यो वर्ष (सन्२०२१) मा भर्ती नहुने भएको छ ।

आगामी वर्ष नेपाली नेपाली नागरिकले भर्ना पाउने र कसैको सिण्डिकेट पनि चल्न नदिनेगरि मन्त्रालयले काम गर्ने मन्त्री श्रेष्ठले बताए । यसका लागि नीतिगत निर्णयबाट गाँठो फुकाउनु परेमा मन्त्रीस्तरमा छलफल गरिने श्रेष्ठले बताए ।

उनले भने, ‘कतार प्रहरीमा प्राप्त रोजगारी गुम्न दिइन्न र नेपाली युवालाई कसैले ठग्न पनि दिन्न । सबै काम पारदर्शी रुपमा हुन्छ । मन्त्रीस्तरमै छलफल गरेर टुंगो लगाउनुपर्ने भएमा हामी भ्रमण आदान प्रदान पनि गर्छौं ।’

मन्त्री श्रेष्ठले वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्या समाधानका लागि आफूले छलफल थालिसकेको र श्रम स्वीकृतिलाई तलैबाट टुंगो लगाउनेबारे काम अघि बढेको बताए ।

साताकाे चर्चित
सम्बन्धित