जापानको एक अदालतले मंगलबार तीन जना बिरामीको हत्या गर्ने पूर्व नर्सलाई आजिवन कैदको सजाय सुनाएको छ । आयुमी कुबोकी नाम गरेकी ३४ वर्षिय ती पूर्व नर्समाथि २०१६ मा तीन जना बिरामीलाई ड्रिप ब्यागमा एन्टिसेप्टिक सोलुसन मिसाएर हत्या गरेको आभियोगमा योकोहामा जिल्ला अदालतमा मुद्दा चलिरहेको थियो ।
कुबोकी स्वयम पनि आफूले काम गर्ने अस्पतालमा उपचारत् तीन जना बिरामीको ड्रिप ब्यागमा एन्टिसेप्टिक सोलुसन मिसाएको स्वीकार गरेकी थिइन् । अभियोजनकर्ताहरुले उनलाई मृत्युदण्ड दिनु पर्ने माग गरेका थिए । तर प्रतिवादीका वकिलहरुले भने पेशीमा अपराध भएको समयमा सिजोफ्रेनियाका कारण कुबोकीको निर्णय क्षमता प्रभावित भएको भन्दै उनको बचाव गर्दै उनलाई आजिवन काराबास दिनु पर्ने तर्क गरेका थिए ।
प्रतिवादीमा अटिजमका केही लक्षणहरु भएको भएपनि उनी पेशी खेप्न पूर्ण रुपमा सक्षम भएको र अटिजमले अपराध गर्ने उनको निर्णय वा क्षमतामा कुनै प्रभाव नपारेको अभियोजनकर्ताहरुको दाबी थियो । कुबोकीले सन् २०१६ को सेप्टेम्बरमा हत्या गर्ने अभिप्रायले ओगुची अस्पतालमा ८८ वर्षिय सोजो निशिकावा, ७८ वर्षिय आसाई ओकिसु र ८८ वर्षिय नोबुओ यामाकीको आईभी ड्रिप ब्यागमा निःसंक्रमण हालेकी थिइन् । आफ्नो ड्यूटीको समय सकिने बित्तिकै बिरामीको मृत्यु होस् अनि आफूलाई आरोप नआओस् भनेर ड्रिप मिलाएकी पेशीमा कुबोकी आफैंले पनि स्वीकार गरेकी थिइन् ।