काठमाडौं। सामाजिक संजालमा एउटा फोटो निकै भाइरल भइरहेको छ । फोटोमा एक व्यक्ति सुटबुटमा समुद्रमा उभिएर भाषण गरिरहेका छन् । यो फोटो सानो देश तुवालुका विदेश मन्त्री साइमन कोफेको हो । तुवालु दक्षिणी प्रशान्त महासागरमा रहेको निकै सानो टापु देश हो जसको जनसंख्या मात्रै ११ हजार छ ।
खासमा कोफेले यस्तो तरिका अपनाएर विश्व र संयुक्त राष्ट्रसंघलाई चेतावनी दिन चाहन्थे । उनले यस्तो गरेर जलवायु परिवर्तन र यसले ल्याउन सक्ने असरहरुलाई बेवास्ता गर्दा यसको परिणाम गम्भीर हुने चेतावनी दिन चाहेका थिए । समाचार एजेन्सी रोयटर्सका अनुसार संयुक्त राष्ट्रसंघले जलवायु परिवर्तनका विषयमा स्कटल्याण्डको ग्लासगोमा आयोजना गरेको कोप २६ सम्मेलनमा उनले यसरी सम्बोधन गरेका थिए ।
कोफेले यो सम्मेलनमा संयुक्त राष्ट्रसंघलाई रेकर्डेड सन्देश पठाएका थिए जसमा उनले समुद्रमा उभिएर सम्बोधन गरेका छन् । कोफे आफ्ना स्टाफको साथमा समुद्र किनार पुगे । पृष्ठभूमिको लागि पर्दा लगाए, अगाडि पोडियम राखे । ट्राउजर घुँडासम्म सारे र पानीमा उभिएर सन्देश रेकर्ड गराए । केही समयमै उनको भिडियो भाइरल भयो ।यो भिडियोको माध्यमबाट उनी विश्वलाई जलवायु परिवर्तनका कारण समुद्रको जलस्तर तीब्र रुपमा बढिरहेको र यसबाट तुवालुजस्ता साना टापु देश पूरै समुल्रमा विलिन हुने खतरा रहेको बताउन चाहेका थिए । उनले विश्वका अन्य देशहरुलाई जलवायु परिवर्तनलाई रोक्न गम्भीर कदम चाल्न सांकेतिक आगह गरेका थिए ।
यो भिडियोलाई तुवालुको सरकारी टेलिभिजन टिभीबीसीले प्रत्यक्ष प्रसारण गरेको थियो । तुवालुको राजधानी फनाफुटीको समुद्र किनारमा यो भिडियो रेकर्ड गरिएको थियो । तुवालुको षेत्रफल मात्रै २५.९ वर्ग किलोमिटर छ र यहाँको जनसंख्या ११ हजार ७९२ छ । यो देशमा कूल ९ वटा टापु छन् ।