सेनाको डरले १३ वर्षमै माओवादी बनेकी उपप्रमुख
सेनाको डरले १३ वर्षमै माओवादी बनेकी उपप्रमुख
    • बेल संचार

    • २५ कार्तिक २०७८, बिहीबार

पम्फा बसेल कक्षा ४ मा पढ्थिन्, स्थानीय विन्ध्यवासिनी प्राविमा । एकपटक परीक्षा चलिरहेको थियो, उनलाई तिर्खा लाग्यो । परीक्षामा खटाइएका कर्मचारीसँग उनले पानी मागिन् । उनलाई पानी त दिइयो, तर पानी ल्याउने व्यक्तिले छुवाछूत गरी जग भुइँमा राखिदिए । त्यसपछि उनी रिसाएर पानी राख्ने माटोको भाँडो नै फुटाइदिइन् ।

‘त्यतिबेला प्रत्येक कक्षाकोठामा एउटा माटोको घैँटोमा पानी र एउटा जग राखिएको हुन्थ्यो । त्यही एउटा जगबाट कक्षाभरिका विद्यार्थीले पानी पिउँथे । त्यतिबेला ती कर्मचारीले अरु (कथित माथिल्ला जातका) लाई पानीको जग हातमै दिएका थिए, तर मलाई छुवाछुत गरे,’ पम्फा भन्छिन्, ‘म १० वर्षकी हुँदी हुँ, जातीय छुवाछुत सहन हुन्न भन्ने थाहा थियो, त्यसैले रिस उठेर भाँडो नै फुटाइदिएँ । विभेदका विरुद्ध बोल्ने मेरो सानैदेखिको बानी हो ।’

यो ०५५ सालतिरको कुरा हो, जतिबेला देशमा माओवादी जनयुद्ध उत्कर्षमा थियो । जनयुद्धका बेला गाउँगाउँमा दलित, महिला लगायत उत्पीडितका हक–अधिकारका कुरा उठ्न थालेका थिए । अझ जनयुद्धका एक प्रमुख नेता बाबुराम भट्टराईको गृहजिल्ला गोरखा यस कुराबाट अछुतो रहने प्रश्नै भएन । यहाँ दलितहरू भित्रभित्र जुर्मुराउन थालेका थिए । थिचोमिचोका विरुद्ध बोल्न थालेका थिए । सार्की समुदायकी पम्फामा जातीय विभेदविरुद्धको चेतना आउनुमा यही परिवेशले काम गरेको थियो ।

१३ वर्षमै जनताको माझमा

पम्फाको जन्म २०४५ माघ २८ गते भएको हो, तत्कालीन गोर्खा खोप्लाङ गाविस–४ मा । दुई दाजुभाइ र चार दिदीबहिनीमध्ये उनी साहिँली हुन् । उनका बुवा पूूर्णबहादुर बसेल साधारण कृषक थिए । उत्पादनले वर्ष दिन धान्न मुस्किल हुने हुँदा उनका दाइ १३ वर्षको उमेरमै नोकरी गर्न भारत पसे, स्कुल पढ्न छाडेर । पम्फा जसोतसो पढ्दै थिइन्, १३ पुग्दानपुग्दै उनको जीवनमा पनि दाइकै कथा दोहोरियो । उनी भारत होइन, जनयुद्धमा लागिन् । मानिसहरू भन्छन्– माओवादीले सानो उमेरका धेरैलाई बहकाएर जनयुद्धमा हिँडायो । तर १३ वर्षका कलिला केटाहरू भारतमा नोकरी गर्न जानुपरेकोतर्फ, गरिबका छोराछोरीले पढ्न नपाएकोतर्फ कसैको ध्यान जाँदैन । समाजमा सबै व्यक्तिलाई समान अवसर, आत्मसम्मान र सेवासुविधा हुन्छ भने को किन बहकिनुपर्ला र ?

२०५९ सालमा पम्फा कक्षा ७ मा पढ्दै थिइन् । देशमा जनयुद्ध अझ उत्कर्षमा पुग्दै थियो । पम्फाको गाउँमा माओवादी समर्थक थुप्रै थिए । ‘एकपटक मेरो घरनजिकै शाही सेनाले एक माओवादी नेतालाई मारिदिए । त्यसपछि गाउँमा द्वन्द्व चर्कियो,’ पम्फा भन्छिन्, ‘शाही सेनाले माओवादीमा लागेको आरोपमा वृद्धवृद्धालाई समेत पक्रेर लैजान्थ्यो । यही त्रासले युवायुवती गाउँ छाडेर भाग्न थाले । बालबालिकालाई पनि शाही सेनाले लगेर तातापानीमा डुबाउने, पिट्ने गरेको हल्ला गाउँमा चलेको थियो । शाही सेनाको डरमा बस्नुभन्दा आवाज उठाउन उचित लागेर विद्यार्थी आन्दोलनमा प्रवेश गरेँ ।’

विद्यार्थी आन्दोलनमा लाग्दासम्म उनलाई राजनीति र अधिकारको लडाइँका बारेमा त्यति थाहा थिएन । तर, विभिन्न छलफल कार्यक्रममा हिँड्दा–बस्दा उनले समाजको थिचोमिचोको सत्य बुझ्न थालिन् ।

जातीय, वर्गीय, लैंगिक आदि असमानता हटाउने माओवादीको राजनीतिक विचार ठीक लागेर उनी विद्यार्थी आन्दोलन हुँदै जनयुद्धमा होमिइन् । जनयुद्धमा लागेको सुरुको ६ महिना उनी घर फर्कन पाइनन् । ६ महिनापछि घर जाँदा परिवारले उनलाई पुनः पार्टीमा लाग्न दिएन । तर अवस्था बदलिएको थियो । उनी माओवादी बनेको हल्ला गाउँभरि फिँजिएको थियो । उनी भन्छिन्, ‘शाही सेनाले भेट्यो भने मार्ने डर थियो, त्यसैले घरमा लुकेर पुगेकी थिएँ, जीवितै छु भन्ने प्रमाण दिन मात्रै ।’ त्यसपछि घरमा बस्ने सम्भावना रहेन र उनी जनयुद्धमै लागिन् । उसो त जतिजति समाज र राज्य व्यवस्थाबारे बुझ्दै गइन्, त्यति नै उनी परिवर्तनका लागि जीवन आहुति दिन दृढ भएकी थिइन् ।

२०६० सालतिर उनी धादिङमा केन्द्रीय नेतृत्वको संरक्षणका लागि खटिएकी थिइन् । २०६१ पुस १८ गते माओवादी र शाही सेनाबीच कृष्णभीरमा दोहोरो भीडन्त भयो । त्यतिबेला उनी पार्टी इलाका समितिको सदस्य थिइन् । पार्टीका उच्च पदस्थ नेतालाई संरक्षण गर्नुपर्ने उनको जिम्मेवारी थियो । ‘नेतृत्वलाई सुरक्षा दिन आफ्नो ज्यान नै जोखिममा राख्नुपर्ने हुन्थ्यो । भीडन्त भइहाले आफ्नो ज्यानको माया हुँदैनथ्यो,’ उनी युद्धकालीन दिनहरू सम्झन्छिन्, ‘हामीले जेलमा बस्नुभन्दा मर्न राम्रो मान्थ्यौँ ।’

कृष्णभीरको भीडन्तपछि फर्कंदै गर्दा उनीहरूलाई सेनाले आक्रमण ग¥यो । उनले बम राखेको ठाउँमा टेक्न पुगिन् । बम पड्केर बजारिन पुग्दा उनको एउटा खुट्टा भाँचियो । एक–दुई महिनासम्म उठ्नै सकिनन् । योबीचमा उनलाई पार्टीले नै उपचार र सुरक्षा दिएको थियो ।

युद्धपछि स्कुल

माओवादी शान्ति प्रक्रियामा आएपछि गोर्खा जिल्लालाई कार्यक्षेत्र बनाएर उनी पार्टीको काममा खटिन् । अब भने उनलाई स्कुल पढ्ने वातावरण मिल्न थालेको थियो । राजनीतिसँगै २०७० मा उनले शक्ति माविबाट एसएलसी उत्तीर्ण गरिन्, त्यसपछि सरस्वती माविबाट प्लस टु गरिन् । अहिले उनी उपप्रमुखको जिम्मेवारी सम्हाल्दै स्नातक पढ्दै छन् ।

राजनीतितिर उनी जिल्लामा इलाका इन्चार्ज, गोर्खा जिल्ला पार्टी कार्यालयको सचिव हुँदै अगाडि बढ्दै थिइन् । यो बीचमा देश गणतन्त्र, संघीयतातर्फ अगाढि बढ्यो । संघीयतालाई संस्थागत गर्न पहिलोपटक स्थानीय तहको निर्वाचन भयो, जतिबेला उनले गोरखा पालुङटार नगरपालिकाको उपप्रमुखको टिकट पाइन् र चुनाव जितिन् ।

योबीचमा उनको राजनीतिक यात्रा सहज थिएन । युद्धका दिन उनी हरेक साँझ मृत्युको अँगालोमा हुन्थिन् । कहाँ, कतिबेला के हुने हो थाहा हुँदैनथ्यो । १३ वर्षको कलिलो उमेरदेखि राजनीतिमा होमिएकी उनी त्यसको १६ वर्षपछि उपप्रमुखजस्तो गरिमामय पदमा पुगिन् । जातीय, वर्गीय, क्षेत्रीय, लैंगिक असमानता हटाउन लडेकी उनलाई अझै पनि पार्टीभित्र जातीय विभेद भएको अनुभव हुन्छ । ‘दलित समुदायको व्यक्तिले अवसर पाउन मुस्किल छ । महिला त्यसमाथि दलितले नेतृत्व अवसर सहजै पाउँदैनन्,’ उनी भन्छिन्, ‘दलितले नेतृत्व गर्न सक्दैनन् भन्ने सोच राखिन्छ । यसपटक अरुलाई पालो दिउँ, अर्काेपटक तपाईंलाई पालो दिउँला भन्दै आश मात्र देखाउने प्रवृत्ति पार्टीभित्र छ । कुनै दलित महिला कुनै पदमा छन् भने पटक–पटक त्यही कुरा सम्झाइन्छ, हामीले दिएका छौँ भन्ने जसरी । यो पनि विभेदकारी सोच हो । जब कि गैरदलित महिला पनि नेतृत्वमा छन् । उनीहरूका सम्बन्धमा यस्ता कुरा हुँदैनन् ।’

उपमेयर भएपछि 

अहिले उनी सहज वातावरणमै उपमेयरको जिम्मेवारी सम्हालिरहेकी छन् । अन्यतिर उपमेयर (महिला)लाई प्रमुख (पुरुष)ले कार्यालयमा एकल निर्णय गरी विभेद गरेको जस्ता कुरा आएका छन् । तर, आफूलाई जिम्मेवारी पूरा गर्न प्रमुखबाट कुनै रोकावट नभएको पम्फा बताउँछिन् ।

उपप्रमुखको काम, कर्तव्य र अधिकारभित्र योजना तथा कार्यक्रमको अनुगमन, न्यायिक समितिको संयोजन लगायत पर्छन् । ‘तर, यी क्षेत्रभित्रका काममा पनि स्थानीय बासिन्दा र अन्य जनप्रतिनिधिले प्रमुखसँगै छलफल गर्न रुचाउँछन्,’ उनी भन्छिन्, ‘पुरुषवादी समाजमा विभेद त छन् । प्रमुखबाटै अप्ठेरो भयो भन्ने छैन ।’

५९६ उजुरी 

समाज कस्तो छ भन्ने कुराको संकेत त्यहाँ उत्पन्न झैझगडा र उजुरीले गर्छन् । ०७४ यता पालुङटार नगरपालिकाको न्यायिक समितिमा पाँच सय ९६ उजुरी दर्ता भएका छन् । ‘धेरै उजुरी घरेलुहिंसा, सम्बन्धविच्छेद, गालीगलौज, जग्गा, सिमानाको विवादका आउने गर्छन्,’ उपमेयर बसेल भन्छिन्, ‘निर्णय गर्न पाउने क्षेत्राधिकारभित्रका उजुरीलाई नगरपालिकाले निर्णय गर्छ । अन्य उजुरी प्रहरी प्रशासनका पठाउँछौं ।’

प्राप्त उजुरीमध्ये ९५ प्रतिशत मेलमिलापमा टुंग्याइएको र बाँकी तामेलीमा राखिएको उनको भनाइ छ । न्यायिक समितिमा मुद्दा पर्ने क्रम क्रमशः बढ्दो देखिन्छ । नगरपालिकाको तथ्यांक अुनसार, २०७४/७५ मा ८४ वटा उजुरी परेको थिए भने २०७५/७६ मा १०५, २०७६/७७ मा १६५ र २०७७/७८ मा २०८ वटा उजुरी परे । त्यस्तै चालू आर्थिक वर्षमा ३४ उजुरी दर्ता भएको नगरपालिकाको तथ्यांक छ ।

नगरवासीका लागि कार्यक्रम

पालुङटार नगरपालिका १० वटा वडा छन् । यसमध्ये नौवटा वडामा प्रशासनिक भवन निर्माण भइसकेको छ । त्यस्तै, वडा कार्यालय र नगरपालिका जोड्ने सडक पनि सुचारु अवस्थामा छन् । हालसम्म नगरपालिकाले ३० किलोमिटर सडक कालोपत्र गरेको र संघीय सरकार, प्रदेश सरकार मिलेर अन्य सडक निर्माण गरिरहेको उपप्रमुख बताउँछिन् ।

उपप्रमुख बसेलका अनुसार, पालुङटार नगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउन धेरै किसिमका तालिम दिएको छ । यीमध्ये सालको पातको दुना–टपरी बनाउने तालिम प्रभावकारी देखिएको छ । दुनाटपरीका लागि नगरपालिकाभित्र सालका रूख प्रशस्त पाइने र यसको बजार पनि भएकाले तालिम प्रभावकारी देखिएको उपप्रमुखको भनाइ छ ।

पालुङटारवासीको मुख्य पेसा हो, कृषि । त्यसैले सिँचाइतर्फ नगरपालिकाले जोड दिएको छ । नगरपालिका तरकारी र दूध उत्पादनमा आत्मनिर्भर रहेको उपप्रमुख बसेल दाबी गर्छिन् । यहाँ शनिबार बाहेक ६ दिन सुपथ मूल्यको हाट बजार चल्छ, त्यसले पनि स्थानीय उत्पादनको बजार सहज बनाएको उनी बताउँछिन् ।

छुवाछुतमुक्त नगरपालिका बनाउने योजना

उपप्रमुख बसेलका अनुसार, पालुङटार नगरपालिकाभित्र खुलेरै जातीय विभेद भएको पाइँदैन, तर भित्री स्वभावमा विभेद छ । ‘अहिलेको युवा पुस्ताभित्र विभेद छैन । पहिलेजस्तो घरभित्र पस्न हुँदैन, मन्दिर जाँदा छोइन्छ, पँधेरो छोइन्छ भन्ने कुरा कम भएका छन्,’ उनी भन्छिन्, ‘तर कतिपय संस्कारजन्य रूपमा रहेका विभेद कायमै छ । त्यसैले नीतिगत रूपमै छुवाछुतमुक्त वडा बनाउनुपर्छ भनेर हामी लागेका छौँ ।’

छुवाछूत जस्ता अन्धविश्वासबारे नयाँ पिँढीलाई बुझाउन सके पनि पुराना पिँढीलाई बुझाउन मुस्किल रहेको उपप्रमुख बसेलको बुझाइ छ । ‘छुवाछूतमुक्त भनेर मात्रै हुँदैन, समाजमा मानिस शिक्षित वा प्रशिक्षित हुनुपर्छ । वर्गीय रूपमा पनि खाडल हुनु हुँदैन,’ उनी भन्छिन्, ‘त्यसैले आर्थिक समृद्धिका कार्यक्रममा जोड दिने नगरपालिकाको योजना छ ।’

उनका अनुसार, नगरपालिकाको ४० हजार जनसंख्यामध्ये ७ प्रतिशत दलित छन् ।

साताकाे चर्चित
सम्बन्धित