कांग्रेस महाधिवेशनः यस्तो छ उम्मेद्वारी शुल्कको व्यवस्था
कांग्रेस महाधिवेशनः यस्तो छ उम्मेद्वारी शुल्कको व्यवस्था
    • बेल संचार

    • ३० कार्तिक २०७८, मंगलवार

महाधिवेशन नजिकिएसंगै सत्तारुढ दल नेपाली कांग्रेसले उम्मेदवारी दर्ता शुल्क तोकेको छ। कांग्रेसले १४ औं महाधिवेशनका लागि पार्टीको अनुसूची २५ अनुसार उम्मेदवारी शुल्क तोकिएको जनाएको हो । कांग्रेसले वडादेखि केन्द्रीय सभापतिसम्मको उम्मेदवारी दर्ता गर्दा शुल्क तिर्नुपर्ने व्यवस्था गरेको छ ।

जसअनुसार गाउँपालिका र नगरपालिका भित्रका वडा कार्यसमितिमा उम्मेदवारका लागि पनि शुल्क तोकिएको छ। वडा सभापति पदका लागि पाँच सय, उपसभापति, सचिव र सहसचिवका लागि तीन सय, प्रदेश सभा क्षेत्रीय प्रतिनिधिका लागि पाँच सय र सदस्यका लागि एक सय रूपैयाँ शुल्क तोकिएको हो ।

त्यस्तै गाउँपालिका कार्यसमितिका लागि सभापतिका लागि दुई हजार, उपसभापति, सचिव र सहसचिवका लागि एक हजार र सदस्यको निर्वाचनका लागि पाँच सय शुल्क तोकिएको छ । यस्तै नगर सभापतिमा उम्मेदवार हुँदा चार हजार, उपसभापति र सचिवका तीन हजार, सहसचिवका लागि दुई हजार र सदस्यलाई एक हजार शुल्क निर्धारण गरिएको छ ।

कांग्रेसले महानगरपालिका र उपमहानगरपालिका अन्तर्गत सभापतिका लागि पाँच हजार शुल्क तोकेको छ । यस्तै उपसभापति र सचिवका लागि तीन हजार शुल्क निर्धारण गरिएको छ । कांग्रेसको पालिका स्तरको अधिवेशन अन्तिम चरणमा छ । आज १४ जिल्लामा पालिका अधिवेशन सम्पन्न गर्ने तयारी छ । यसअघि ६३ जिल्लामा पालिका अधिवेशन सम्पन्न भइसकेको छ । उक्त जिल्ला केही पालिकामा रोकिएको अधिवेशन पनि आजै हुने कार्यतालिका छ ।

प्रदेश सभा क्षेत्रीय कार्यसमितिमा सभापतिलाई पाँच हजार, उपसभापति र सचिवलाई तीन हजार, सहसचिवलाई दुई हजार पाँच सय र सदस्यलाई दुई हजार शुल्क लाग्ने छ। प्रदेश सभा क्षेत्रीय अधिवेशन मंसिर ३ गतेका लागि तय गरिएको छ । १३ जिल्लामा यसअघि नै अधिवेशन भइसकेको छ ।

प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति सभापतिलाई सात हजार, उपसभापति र सचिवलाई पाँच हजार, सहसचिवलाई चार हजार र सदस्यलाई दुई हजार शुल्क निर्धारण गरिएको छ ।

त्यसैगरी जिल्ला कार्यसमिति सभापति पदको उम्मेद्वारी दिन १० हजार, उपसभापति र सचिवका लागि सात हजार, सहसचिवका लागि छ हजार र सदस्यका लागि तीन हजार शुल्क तोकिएको छ । मंसिर ६ गते प्रतिनिधिसभा क्षेत्रीय र एक निर्वाचन भएको जिल्ला अधिवेशन हुने छ । मंसिर १० गते एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन हुने छ ।

प्रदेश महाधिवेशन प्रतिनिधिका लागि तीन हजार, केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि पाँच हजार र केन्द्रीय महासमिति सदस्य पदको निर्वाचनका लागि सात हजार रुपैयाँ शुल्क लाग्ने छ।

प्रदेश सभापति पदका लागि १५ हजार, उपसभापति, महामन्त्री र सहमहामन्त्री उम्मेदवारले ११ हजार र सदस्यका लागि पाँच हजार शुल्क तिर्नुपर्छ।

त्यस्तै कांग्रेसले केन्द्रीय सभापति पदमा उम्मेदवारी दिन ३० हजार रुपैयाँ शुल्क तिर्नु पर्ने छ । उपसभापति र महामन्त्रीका लागि २५ हजार, सहमहामन्त्रीका लागि २० हजार, केन्द्रीय सदस्यको उम्मेदवारी दर्ताका लागि १० हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने हुन्छ। मंसिर १६ र १७ गते सात वटै प्रदेशको अधिवेशन हुने छ भने मंसिर २४–२६ मा कांग्रेसले आफ्ने १४औं महाधिवेशन गर्नेछ ।

महाधिवेशनबाट कांग्रेसमा सभापति १, उपसभापति २, महामन्त्री २, सहमहामन्त्री ८ (क्लस्टर) निर्वाचन मार्फत् नै चुन्ने व्यवस्था गरेको छ। कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्ये एक जना सभापतिको प्रस्तावमा केन्द्रीय कार्यसमितिबाट अनुमोदन हुने गरी चयन गरिने व्यवस्था गरिएको छ।

साताकाे चर्चित
सम्बन्धित