सुपारी कारोबारमा अर्बौंको खेल
सुपारी कारोबारमा अर्बौंको खेल
    • बेल संचार

    • १ मंसिर २०७८, बुधबार

काठमाडौं: तेस्रो मुलुकबाट सुपारी आयातमा अर्बौं रूपैयाँको चलखेल हुने गरेको पाइएको छ । नेपाली उद्योगका लागि भनेर ल्याएको सुपारी भारततर्फ निकासी गरी अर्बौं रूपैयाँ बढीको खेल हुने गरेको छ । स्रोतका अनुसार त्यसमा व्यापारीदेखि उच्च सरकारी अधिकारीको मिलेमतो रहेको छ ।

सरकारले वार्षिक करिब २५ हजार मेट्रिक टन सुपारी आयात गर्न अनुमति दिन्छ । सोमध्ये करिब २० हजार मेट्रिक टन सुपारी भारततर्फ निकासी हुने गरेको स्रोतको दाबी छ । व्यापारीले नेपालबाट नौ हजार सात सय ७० मेट्रिक टन सुपारी निकासी गर्न वैधानिक अनुमति भए पनि अरू सुपारी चोर बाटोबाट भारत पठाउने गरेका छन् । २० हजार मेट्रिक टन सुपारी भारत निकासी गर्दा भन्सार शुल्क र जिएसटीबापत मात्र करिब दुई अर्ब ६२ करोड रूपैयाँ जोगिन्छ ।

नेपालबाट भारत सुपारी निर्यात गर्दा तोकिएको परिमाणका लागि शून्य भन्सार भएकाले त्यसकै फाइदा उठाउँदै केही व्यापारीले विदेशबाट आयात गरेर नेपालमा उत्पादन भएको भन्दै भारत पठाउने गरेका छन् । भारतमा अन्य मुलुकबाट सुपारी आयात गर्दा भन्सार शुल्क र जिएसटी प्रतिकिलो ८२ भारु (१ सय ३१ रूपैयाँ २०पैसा) लाग्छ ।

विदेशबाट ल्याएर नेपालको उत्पादन भन्दै भारत निकासी गर्दा यो रकम जोगिन्छ । अन्य नाफाबाहेक किलोमै १ सय ३१ रूपैयाँ भन्सारमात्र फाइदा हुने भएपछि एक गिरोहले नेपालका उच्च सरकारी अधिकारीसँगको सेटिङमा तेस्रो मुलुकबाट सुपारी आयात गरेर भारत पठाउने गरेका छन् ।

शुभलाभ सुपारी प्रशोधन उद्योग झापाका प्रोप्राइटर अनिल भेटवाल विदेशबाट आयात हुने सुपारीमा अर्बौं रूपैयाँको खेल हुने बताउँछन् । विदेशबाट आयात गरेर नेपालको उत्पादन भन्दै भारत पठाउने गरेको उनले बताए । ‘सुपारीको भाग स्थानीयदेखि प्रधानमन्त्रीसम्म पुग्छ भन्ने सुनिएको छ,’ भेटवालले भने, ‘विदेशबाट सुपारी आयात गरेर तस्करी गरेर बिक्री गर्ने गिरोह नै सक्रिय छ ।’

झापामा उत्पादन भएको सुपारी किसानले प्रतिकिलो ५ सय ४० रूपैयाँमा बिक्री गर्छन्। त्यसलाई प्रशोधन गरेर बिक्री गर्ने तयारी अवस्थामा रहेको सुपारी किलोको ६ सय १० रूपैयाँमा बिक्री हुन्छ । अहिले भारतमा सुपारीको मूल्य किलोको ७ सय २० रूपैयाँ (४ सय ५० भारु) देखि ९ सय २७ (५ सय ८० भारु) सम्म छ । यसरी हेर्दा भन्सार शुल्क छुटको फाइदा मात्र नभएर विदेशबाट आयात गरेर भारत निर्यात गर्दा व्यापारीले अर्बौं रूपैयाँ फाइदा लिने गरेका छन् । अन्तर्राष्ट्रिय बजारमा अहिले सुपारीको मूल्य प्रतिटन दुई हजारदेखि २२ सय डलर रहेको छ । यहाँ उत्पादन भएको सुपारीलाई नेपाल सुपारी खेती विकास संस्था झापाले सिफारिस गरेको आधारमा झापाको भद्रपुरमा रहेको उद्योग वाणिज्य संघले उत्पत्तिको प्रमाणपत्र जारी गर्छ ।

त्यसैका आधारमा निर्यात हुन्छ । नेपालमा करिब १४ हजार मेट्रिक टन सुपारी खपत हुने अनुमान छ । स्वदेशमा करिब नौ हजार सुपारी उत्पादन हुन्छ । विदेशबाट आयात भएको करिब पाँच हजार टन यहाँ प्रयोग भए पनि २० हजार मेट्रिक टन भारततर्फ जाने गरेको छ ।

अर्बौं रूपैयाँ फाइदा हुने र भाग पनि पाइने भएपछि सरकारी अधिकारीले पनि यो कारोबारमा साथ दिएका छन् । फाइदा लिन सरकारी अधिकारीले पनि स्वार्थ समूहको प्रभावमा परेर केराउ, सुपारीलगायतको वस्तुको आयातमा कहिले अनुमति दिने, कहिले रोक्ने गरेका छन् । सुपारी तस्करीको यो अवैध कारोबारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल राष्ट्र बैंक, भन्सार विभागका अधिकारी समेत अप्रत्यक्ष रूपमा संलग्न भएको देखिएको छ ।

सुपारी र केराउको कोटा निर्धारणदेखि आयात खुल्ला गर्न र बन्द गर्न सरकारी अधिकारीको गतिविधिले थप शंका पैदा भएको छ । गत आर्थिक वर्ष ०७७÷७८ मा सरकारले केराउ ८० हजार मेट्रिक टन,सुपारी २५ हजार मेट्रिक टन, छोकडा पाँच हजार मेट्रिक टन,मरिच १५ हजार मेट्रिक टन आयात गर्न अनुमति दिएको थियो ।

वाणिज्य विभागले परिमाणात्मक बन्देजका वस्तुहरू केराउ, सुपारी, मरिच, छोकडाको हकमा कोटा प्राप्त फर्म तथा कम्पनीले कोटा प्राप्त गरेको मितिले पैठारी इजाजत म्याद ६ महिना हुने उल्लेख गर्दै कात्तिक ११ गते राष्ट्रबैंकलाई पत्र लेखेको थियो । गत वर्ष अनुमति लिएर पनि नल्याएको सुपारी,केराउ ल्याउने बाटो खोल्न व्यापारीको प्रभावमा परेर राष्ट्रबैंकले एक दिनका लागि खुला गर्ने निर्णय गरेको थियो ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले केराउ, सुपारी र छोकडा आयातमा लगाएको पूर्ण बन्देजलाई गत कात्तिक ११ गते खुला ग¥यो । प्रभावमा परेर बन्देज खुला गर्दै विदेशी मुद्रा सटही सुविधा दिने राष्ट्र बैंकको निर्णय दुई दिन पनि टिकेन ।

गत आर्थिक वर्ष ०७७/७८ कै कोटामा सुपारी, केराउ,छोकडा ल्याउन अनुमति पाएका व्यापारीका लागि खुला गरिएको थियो । ती समूहले विदेशी मुद्रा सटही गर्नासाथ राष्ट्रबैंकले खुला गर्ने निर्णयमा पुनः बन्देज लगायो । व्यापारीले एलसी खोलेर विदेशबाट ल्याएको सामान अहिले फेरि भन्सारले रोकेको छ । इजाजत पाएको फर्मले अनुमति पाएपछि सिपमेन्ट भएको ६ महिनासम्म सामान ल्याएपछि भन्सारले भन्सार पास दिनुपर्ने कानुनी व्यवस्था छ । तर अहिले फेरि विराटनगर भन्सार र मेची भन्सारले विदेशबाट ल्याएको केराउ र सुपारी रोकेका छन् ।

गत वर्ष अनुमति लिएका सबै व्यापारीले सुपारी, केराउ लगायतका सबै वस्तु ल्याएका थिएनन् । गत वर्षको अनुमतिकै आधारमा अहिले ल्याउँदै छन् । गत वर्षकै कोटाबाट आयात भएको एक हजार ३३ मेट्रिक टन सुपारी मेची भन्सार कार्यालयमा आइपुगेको छ । भन्सारका कर्मचारीलाई माथिको आदेशपछि मात्र छाड्नू भनेर निर्देशन दिइएको छ ।

स्रोतका अनुसार अर्थ मन्त्रालय नेतृत्वको ठाडो निर्देशनमा रोकिएको हो । प्रक्रिया पुर्‍याएर आएको सुपारी आयात अनुमति दिनुपर्ने भए पनि मोलमोलाइ नमिलेका कारण रोकिएको स्रोतको दाबी छ । यो विषयमा पटकपटक फोन सम्पर्क गर्दा मेची भन्सार कार्यालय प्रमुख सम्पर्कमा आउन चाहेनन् ।

विराटनगर भन्सारमा पनि माथिको आदेश भन्दै केही केराउ रोकिएको छ । भन्सार विभागका उच्च अधिकारीले केराउको भन्सार पास दिनुपहिला सोधेर मात्र दिन निर्देशन दिएका छन् । ‘जाँचपास गर्नु पहिला हामीलाई सोधेर मात्र अनुमति दिन भनिएको छ,’विराटनगर भन्सारका एक अधिकारीले भने, ‘माथिको आदेश नहुँदासम्म पास हुँदैन ।’,याे समाचारनागरिक दैनिकमा छापिएकाे छ ।

साताकाे चर्चित
सम्बन्धित