हस्तकला नै विदेशी मुद्रा आर्जनको मुख्य स्रोत हुनसक्छ-शाक्य
हस्तकला नै विदेशी मुद्रा आर्जनको मुख्य स्रोत हुनसक्छ-शाक्य
    • Bell Sanchar

    • १ मंसिर २०७८, बुधबार

नेपाल हस्तकला महासंघको आयोजनामा १८औं हस्तकला व्यापार मेला तथा १६ औं कला प्रतियोगिताको हुँदैछ, यसको तयारी, मुख्य आकर्षण, विगत र यस पटकको मेलाको भिन्नता, यसले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा व्यपार व्यवसायलाई पार्ने प्रभाव, मेलाको आय–व्यय, मेलाको उदेश्य र औंचित्यका बारेमा केन्द्रीत भई महासंघका उपाध्यक्ष तथा मेला संयोजक रवीन्द्र शाक्यसँग गरिएको सम्पादीत कुराकानीको अंशः

नेपाल हस्तकला महासंघको आयोजनामा १८ औं हस्तकला व्यापार मेला तथा १६ औं कला प्रतियोगिताको हुँदै छ, यसको तयारी बारेमा केहि जानकारी गराईदिनुस ?

मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । खुशीको कुरा त के छ भने विगतमा काठमाडौंमा सीमित हुने गरेकोे मेलामा अहिले प्रदेश र जिल्ला संघहरुले पनि सहभागिता जनाउने इच्छा देखाएका छन्, जसबाट देशभरका व्यवसायीलाई मेलामा सहभागी गराउने हाम्रो उद्देश्य पूरा हुने भएको छ । कोरोनाबीच पनि मेलाप्रति आकर्षण देखिनु सकारात्मक पक्ष हो । मेलालाई अवलोकनका लागि विभिन्न सञ्चार माध्यमबाट पनि प्रचार÷ प्रसार भएको छ । सबैको साथ र सहयोग रहेको छ । मेलामा विभिन्न हस्तकलाका विधाका एकसय २० भन्दा बढी स्टल रहने छ । विगतका मेलामा हस्तकला बाहेकमा पनि स्टल रहने गरेको यसपटकको मेलामा भने विशुद्ध हस्तकलाका मात्रै स्टल रहने मेला छ अधिकांस स्टल बुकिङ भइसकेको छ ।

मेलाका मुख्य आकर्षण एउटै छानामुनि हस्तकला वस्तुको बृहत प्रदर्शनी तथा बिक्री, समयसापेक्ष मेड इन नेपाल, मेक इन नेपाल अवधारणाअनुरुप वस्तुको प्रदर्शनी, परम्परागत तथा नवोदित सम–सामयिक हस्तकला विधाको कलाप्रतियोगिताअन्तर्गत परम्परागत–जडाऊ कला (फिलगिरी), समसामयिक प्राकृतिक रेशा (नेचुरल फाइवर), अर्मूत सांस्कृतिक सम्पदाको उजागर, तारागाउँ कल्चर सेन्टरको हलमा उत्कृष्ट हस्तकला वस्तुको कला प्रदर्शनी, विभिन्न विधामा जीवन पर्यन्त संलग्न ७० वर्ष नाँघेका जेष्ठ कलाकारलाई सम्मान र हस्तकलाकलाका उत्कृष्ट निर्यातकर्तालाई सम्मान गरिने छ ।

मेलामा सबै प्रदेशको सहभागिता रहन्छ ?

सबै प्रदेशमा त हाम्रो पहुँच छैन । प्रदेश ७ र ६ मा खासै पहुँच छैन तर प्रदेश नम्बर १,२,३ र ५ मा हाम्रो पहुँच रहेको छ । तथापी अहिले ४ वटा प्रदेशलाई मात्रै सहभागी गराउन सक्ने अवस्था र संभावना छ ।

विगतमा काठमाडौको भृकुटीमण्डपमा मेला गरिन्थ्यो, तर अहिले तारे होटलमा हुँदैछ, मेला कत्तिको प्रभाकारी होला ?

भृकुटीमण्डपभन्दा पनि प्रभावकारी र सफल हुनेमा हामी आशावादी छौं । किनभने हस्तकला भनेको भ्यालु एडेड प्रोडक्ट हो, यसलाई अझै उच्च महत्व दिनुपर्छ । विश्वसामु आफ्नो गुणस्तर र मौलिक पहिचान स्थापित गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यसैले फाइभस्टार लेवलमा पुगेपछि वास्तवमै यसको ग्रोथ हुने र रेसियोसमेत बढ्ने हाम्रो अपेक्षा छ । भृकुटीम मण्डपमा गर्दा सर्वसाधारण भिजिटर बढी हुन्थे भने हायात होटलमा हुँदा उच्च पदस्थ अधिकारी देखि कुटनीतिक नियोग, नेपालस्थित राजदूतहरुको सहभागिता रहन सक्ने भएकोले मेला अझै प्रभावकारी हुनेछ भन्ने हामीलाई लागेको छ । वास्तवमा हालसम्म हस्तकलाको नीति छैन, हस्तकला हेर्ने निकाय पनि नरहेको अवस्था छ । यसपटकको मेलाले नीति निर्माण र निकायका लागि समेत राज्यको ध्यानाकर्षण होला भन्ने लागेको छ । त्यसैले हायात होटलमा हुँदा सरकारका उच्च पदस्थ अधिकारी, राजनीतिकर्मी, कुटनीतिज्ञ, नेपालस्थित राजदूहरुलाई मेलामा आकर्षित गर्न सकियो भने वास्तवमै देशको अर्थतन्त्रमा हस्तकलालाई उजागर गर्नेछ भने आफ्नो मौलिकताको पहिचान, हस्तकलाको व्यवसायीकीकरण, यस क्षेत्रमा उत्पादन हुने कलाकारहरुलाई पनि अन्तर्राष्टियस्तर सम्म उजागर गर्न सकिनेछ । अर्को कुरा, भृकुटीमण्डपमा बढी भीडभाड हुने, पार्किङ समस्या, सुरक्षा पक्ष, सरसफाइको अवस्थालाई समेत मध्यनजर गर्दै मेला हायातमा नै उपयुक्त लागेको छ । यसको प्रि प्लानका रुपमा भाटभटेनी सुपरमार्केटमा पनि हामीले सानो मेला आयोजना गरेका थियौ, त्यो मेलाको रौनक र उत्साह देखेर हामी झनै उत्साहित भएका छौं ।

साताकाे चर्चित
सम्बन्धित