महोत्तरी । सामान्यतया पुस लागेपछि देखिने हुस्सु (कुहिरो )जिल्लाको दक्षिणी र मध्यक्षेत्रमा यसपालि मध्य मङ्सिरअघि नै लाग्न थालेको छ । जिल्लाको मध्यक्षेत्रदेखि नेपाल–भारत सीमाको दशगजासम्मकै बस्ती मङ्सिर पहिलो साता बितेलगत्तैदेखि हुस्सुले डम्म ढाकिएका छन् । चिसो सिरेटो बहनसँगै एकाबिहानै हुस्सुले डम्म ढाकिएपछि जाडो एक्कासी बढेको छ ।
जिल्लाको सुदूर उत्तरी क्षेत्र (पूर्वपश्चिम राजमार्ग वारिपारि) एकाबिहानै पारिलो घाम लागे पनि मध्य र दक्षिणी क्षेत्रमा भने हुस्सु लाग्ने र चिसो सिरेटो बहन थालेपछि जाडो ह्वात्तै बढेको हो । धानबाली थन्क्याइ नसकिएको र हिउँदेबाली लगाउने धमाधमका बेला एक्कासी जाडो बढेपछि जिल्लाका बस्तीमा कृषिकार्य सुस्त भएको किसानले बताएका छन् ।