चितवन
सौराहामा जारी नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा आइतबार विहान १० बजेका लागि बोलाइएको बन्द सत्र अझैसम्म सुरु हुन सकेको छैन ।
अध्यक्ष केपी शर्मा ओलीले आइतबार विहान १० बजे नै बन्दसत्रमा उपस्थित हुन आग्रह गरेका थिए । त्यसअनुसार अधिकांश प्रतिनिधि बन्दसत्रको हलमा पुगेका पनि थिए ।
तर झण्डै ५ घण्टा कुर्दा पनि बन्दसत्र सुरु नभएपछि प्रतिनिधिहरु बन्द सत्र स्थलबाट बाहिर निस्किएका छन् । उनीहरुमा नेतृत्वमा कसरी सहमति होला भन्ने चासो छ ।
कमिटीको नामावली प्रस्ताव गर्ने सर्वाधिकार आफूमा लिएका अध्यक्ष केपी शर्मा ओली भने नेताहरुसँग छलफलमा छन् । पदाधिकारी र केन्द्रीय सदस्यको आकांक्षीहरु ओली बसेको होटलमा पुगेर उनीलाई भेट्ने क्रम पनि चलिरहेको छ ।
बन्द सत्र स्थलमा भेटिएका सचिव योगेश भट्टराई सहमतिकै प्रयासमा समय लिइएको बताए । ‘महाधिवेशनको हलले नै सहमति गर्ने भनेपछि सबै साथीहरुलाई समेट्ने र विवेक पुर्याउने काम नेतृत्वको हो, ’ उनले सञ्चारकर्मीहरुसँग भने, ‘नेतृत्वले आफ्नो परीक्षा ठिक ढंगले दिन्छ कि दिँदैन भन्ने प्रश्न छ । आजका जे चुनौती छ, त्यसमा एमालेलाई अब्बल साबित गर्न नेतृत्वले विवेकसम्मत ढंगले प्रतिनिधिको भावनाको अगुवाइ गर्नुपर्छ ।’