सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकले व्यहोर्दै आएका समस्याको समाधान खोज्न छलफल थालेको छ । जिम्मेवारी सम्हालेलगत्तै श्रम क्षेत्रको सुधारमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सरोकारवालासँगको छलफललाई तीव्र पार्नुभएको छ ।
सोही अवसरमा आज मन्त्री श्रेष्ठले वैदेशिक रोजगारबाट फर्केका नेपाली श्रमिकसँग छलफल गर्नुभयो । छलफलमा सहभागीले स्वदेश फिर्ती, नेपाली श्रमिकले वैदेशिक रोजगारीमा भोग्नुपरेको बेथिति, वैदेशिक रोजगारीको सुरुआतदेखि नेपाल नफर्केसम्म नेपालीमाथि हुने गरेको ठगी र सरकारले तोकेका सेवासुविधा नपाएको गुनासो गरेका थिए । उनीहरुले बाध्यात्मक रुपमा वैदेशिक रोजगारी जानु परेको यथार्थ सुनाउँदै स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न र स्वदेश फर्केका युवाको पुनःएकीकरणमा ध्यान दिन आग्रह गरेका थिए । अझै पनि स्वदेशमा रोजगारीको अवसर नभएको हुँदा दैनिक हजारौँ युवा विदेसिन बाध्य छन् ।