‘लैंगिक हिंसाविरुद्धको अभियान केवल पर्व मनाएझैं नबनोस्’
‘लैंगिक हिंसाविरुद्धको अभियान केवल पर्व मनाएझैं नबनोस्’
    • बेल संचार

    • १४ मंसिर २०७८, मंगलवार

-इन्द्रराज भट्टराई

हरेक वर्ष २५ नोभेम्वरदेखि १० डिसेम्बरसम्म संसारभर मनाइने लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको यो वर्षको अन्तर्राष्ट्रिय नारा “Orange the World: End Violence against Women now”अरेन्ज द वल्र्डः अव महिला बिरुद्ध हिंसा अन्त्य गरौुं रहेको छ। Orange अर्थात् सुन्तला रंग उज्वल भविष्यको प्रतीक मानिन्छ जसले हिंसा विरुद्धको समाजको परिकल्पना गर्दछ।

लैंगिक शब्दले महिला, पुरुष तथा अन्य लिंग (LGBTQ) का मानिसहरुलाई जनाउँछ। तर पितृसतात्मक  विश्व परिवेश त्यसमा‌ पनि नेपाल जस्ता अल्पविकसित मुलुकका हकमा सबैभन्दा बढी हिंसा महिला विरुद्ध हुने गर्दछ। २५ नोभेम्बर देखि १० डिसेम्वरको बीचमा बिभिन्न दिवसहरू पर्दछन्। यस अन्तर्गत २५ नोभेम्वरमा लैङ्गिक हिंसा विरुद्धको दिवस, २९ नोभेम्वरमा महिला मानव अधिकार रक्षक दिवस, १ डिसेम्वरमा विश्व एचआईभी/एड्स दिवस, ३ डिसेम्वरमा अन्तर्राष्ट्रिय अपाङ्गगता दिवस, ६ डिसेम्वरमा क्यानाडाको मोन्टोल नरसंहारको वार्षिकी र १० डिसेम्वरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस  पर्छन्।

१६ दिने अभियानको पृष्ठभूमिको कुरा गर्दा २५ नोभेम्वर १९६० का दिनमा डोमिनिकन गणराज्यको एउटा पहाड त्रुजिलोको फेदमा ३ दिदीबहिनीहरुको लास भेटियो। पाट्रीया, मिनेर्भा र मारियम टेरेसा मीराबल रेयस (Patria Mercedes Mirabal Reyes, María Argentina Minerva Mirabal Reyes, Antonia María Teresa Mirabal Reyes)  (Trujillo dictatorship in the Dominican Republic) विवाहित दिदीबहिनीहरुलाई उनीहरुको चालक सहित हत्या गरेर एउटा जीपमा राखेर उक्त पहाडको टुप्पोबाट फालिदिएका थिए। ती मीराबल दिदीबहिनीहरु ३० वर्षसम्म शासन गरेका डोमिनिकन गणराज्य त्रुजिलो तानाशाही (Trujillo dictatorship in the Dominican Republic)  शासनका विरुद्ध चलेको नागरिक आन्दोलनको अगुवा तथा राजनीतिज्ञका श्रीमतीहरु थिए । तानाशाहीको कडा दमन विरुद्ध अन्य आन्दोलनका अभियान्ताका साथ ती दिदीबहिनीहरू पनि आफ्ना श्रीमान्हरूसँगै सशक्त रुपमा होमिएका आन्दोलनकारी थिए। अन्याय नसहने स्वभावका शिक्षित र सचेत महिलाका रुपमा परिचित ती दिदीबहिनीहरुलाई तत्कालिन त्रुजिलो तानाशाहीका विरुद्धमा लडेका कारण राजद्रोहको आरोप लगाउँदै पटकपटक जेलमा हालिएको थियो। आन्दोलनलाई दबाउने क्रममा जेल परेका आफ्ना श्रीमानहरूलाई भेटेर फर्किरहेको बेला त्रुजिलो शासकले सवारी चालक सहित ती अधिकारकर्मी दिदीबहिनीहरूको सन् १९६० नोभेम्वर २५ को साँझ निर्ममतापूर्वक हत्या गरेको थियो।

त्यसपछिको त्यहाँ ठूलो विद्रोह भयो र त्रुजिलोको तानाशाही शासन पतन भयो।सन् १९८० मा साहसिक अधिकारकर्मी मिराबल दिदीबहिनीहरुको प्रेरणाबाट ल्याटिन अमेरिकामा महिला विरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तरराष्ट्रिय दिवसको रुपमा मनाउन थालिएको पाइन्छ।त्यसैगरी १९८९ डिसेम्वर ६ का दिन मोन्टोल विश्वविद्यालयमा क्यानाडाका एक युवकले १४ जना छात्राहरुको सामूहिक हत्या गरेका थिए। यो घटनाको सम्झना गर्दै क्यानाडाका केही उत्साहित युवाहरुको प्रयत्नमा महिला अधिकारको‌ निम्ति सन् १९९१ मा सेतो रिवन (White Ribbon) अभियानको शुरुवात गरिएको थियो। महिला हिंसाको विरुद्धमा पुरुषहरुले सेतो रिवनको अंग्रेजी अक्षर भी “V- (Violence)” को उल्टो वनाउँदा वन्ने आकारमा लगाइने अर्थात् पुरुषवर्गको प्रतिवद्धता “म हिंसा गर्दिन, म हिंसा सहन्न र म हिंसाको प्रतिकार गर्छु” भन्ने प्रतिवद्धता हो। त्यसैले लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानमा पनि सेतो रिवन अभियानको रुपमा १६ दिन सम्मै लगाउने चलन छ।लैङ्गिक हिंसा अन्त्यको प्रयासस्वरुप सन् १९९१ मा सेन्टर फर ओमन्स ग्लोबल लिडरसिपको सहयोगमा २० देशका २३ उत्साहित महिलाको समूहले लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको सुरुवात गरी विश्वलाई अभियानमा जुट्न आह्वान गरेको थियो। पछि संयुक्त राष्ट्रसंघको १७ डिसेम्बर १९९९ को महासभाले पारित गरेको नोभेम्बर २५ लाई महिलाविरुद्ध हुने हिंसा उन्मूलन दिवसका रूपमा मनाउने घोषणाबमोजिम हरेक वर्ष सोही दिन अन्तर्राष्ट्रिय रूपमा यो दिवस मनाइन्छ । यो १६ दिने अभियानको मूख्य उद्देश्य महिला विरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्नु हो।

नेपालमा १६ दिने अभियाननेपालमा १६ दिने

अभियानको शुरुवात नेपालमा १६ दिने अभियानको थालनी वि.स.२०५४ सालदेखि भएको पाईन्छ। नेपाल सरकार मन्त्रिपरिषद्को २०७५ मंसिर २ गतेको बैठकले २०७५ साल मंसिर ९ गतेदेखि मंसिर १४ गतेसम्म अथात् २५ नोभेम्बरदेखि १० डिसेम्वरसम्म सामाजिक चेतना सहित लैङ्गिक हिंसा बिरुद्धको अभियान संचालन गर्न संघिय सरकारका मन्त्रालय तथा निकायहरु, सातैवटा प्रदेश सरकार, ७७ वटै जिल्ला समन्वय समिति, ७५३ स्थानीय तह एवं त्यसका वडाहरु, सरोकारवाला निकायहरु तथा सामाजिक संघसंस्थाहरुलाई आव्हान गर्ने र प्रत्येक वर्ष नोभेम्वर महिनाको २५ तारिकलाई महिला हिंसा बिरुद्धको अभियान दिवसको रुपमा मनाउने निर्णय गरेको थियो।हरेक वर्ष झैं यो वर्ष पनि २५ नोभेम्वरदेखि १० डिसेम्वरसम्म लैङ्गिक हिंसा विरुद्ध जनचेतना जगाउने र महिला विरुद्ध हुने हिंसाको प्रभावलाई कम गर्ने उद्देश्य सहित यो अभियान मनाइँदै छ।

नेपालले यस वर्षको राष्ट्रिय नारा “घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं” तय गरेको छ। यो अभियान चल्दैगर्दा हाम्रो देशको कुना काप्चामा कयौं बालबालिका, किशोरी तथा महिलाहरु हिंसामा परिरहेका हुनसक्छन्। नेपालमा महिलामाथि घरेलु हिंसा, कुटपिट, बालिका तथा किशोरीको बलात्कार, बलात्कारपछि हत्या, एसिड आक्रमण, बोक्सीको आरोपमा महिलामाथि दुर्व्यवहार जस्ता घटनाहरू हुने गरेको कुरा हामीले देखेका र भोगेका छौं। त्यसतर्फ पनि सबै अभियान्ताहरुको विशेष ध्यान जानुपर्ने देखिन्छ। महिला अधिकारका लागि कयौंको वलिदानबाट प्राप्त उपलब्धीहरूलाई संस्थागत गरी व्यवहारमा कार्यान्वयन गर्नु, गराउनु र सबै क्षेत्रका महिला पुरुषबीच ऐक्यवद्धताका लागि वातावरण बनाउने प्रमुख उद्देश्यलाई साकार पार्न सबैको सक्रियता हुन आवश्यक छ। तसर्थ यो अभियानलाई शहर वजारमा मात्र सीमित नराखी देशका कुनाकाप्चामा समेत पुर्‍याउन जरुरी छ।

आउनुहोस्, तपाईं हामी सबै हातेमालो गरौं, लैंगिक हिंसाविरुद्ध आवाज बुलन्द गरौ। कुरामा र भाषणमा मात्र होइन, व्यवहारमा नै लैंगिक हिंसा अन्त्यको पहल गरौं। संघ, प्रदेश तथा स्थानीय तह सबै ठाउँमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गरौं, हिंसा विरुद्धको अभियानको शंख घोष गरौं। यस्ता संवेदनशील बिषयबस्तुलाई विद्यालय तहदेखि नै अनिवार्य पाठ्यक्रममा समेटेर बालबालिकामा सकारात्मक सोच पैदा गर्ने वातावरण सिर्जना गरौं। महिला र बालबालिकाको सुरक्षा हरेक पुरुषको दायित्व हो भन्ने कुरा स्थापित गरौं। सोचमा परिवर्तन ल्याऔं र व्यवहारमा लागू गरौं।

(मानव बेचबिखन र लैंगिक हिंसाविरुद्धको अभियानमा लामो समयदेखि क्रियाशील भट्टराई सामाजिक अभियन्ता एवं अधिकारकर्मी हुन्)

साताकाे चर्चित
सम्बन्धित