सर्वोच्चमा आजदेखि गोलाप्रथा: थैलीबाट तानिने छ गोला, यसरी तोकिनेछन् इजलास
सर्वोच्चमा आजदेखि गोलाप्रथा: थैलीबाट तानिने छ गोला, यसरी तोकिनेछन् इजलास
    • बेल संचार

    • १५ मंसिर २०७८, बुधबार

सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोला तानेर पेशी तोक्ने परम्पराको शुरूआत हुँदैछ ।

गोलाप्रथाबाट पेशी व्यवस्थापनको तयारी पूरा भएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले लोकान्तरलाई जानकारी दिए ।

मुख्य रजिस्ट्रार लालबहादुर कुँवरले त्यसको मुख्य व्यवस्थापन गरेका छन्।

‘मुद्दा महाशाखाबाट पेशीमा चढ्ने मुद्दा समूहीकृत गर्ने काम मुख्य रजिस्ट्रारज्यूले गर्नुहुन्छ,’ सूचना अधिकारी ढकालले लोकान्तरसँग भने, ‘त्यसपछि प्रत्येक दिनका लागि साप्ताहिक तथा पूरक पेशी सूचीमा समावेश भएका तथा भैपरी आउने मुद्दाहरूको सुनुवाइका लागि गोला प्रक्रियाद्वारा इजलास गठन हुनेछ।’

इजलास गठन तथा पेशी सूची निर्धारण सम्बन्धमा बनेको कार्यविधिअनुसार अब मुद्दाको पेशी तथा इजलास गठन भोलिदेखि गर्नका लागि सम्पूर्ण तयारी पूरा भएको उनले बताए। बिहीवारका दिन वृहत् पूर्ण इजलास गठन हुने दिन भएका कारण त्यसदिन पहिले बृहत् पूर्ण इजलास गठनका लागि गोला तान्ने काम हुने उनले बताए।

‘त्यस बाहेकका दिनमा प्रत्येक दिन पूर्ण इजलास, संयुक्त इजलास र एक न्यायाधीशको एकल इजलास गठन समेत दिनहुँ अब श्रीमानहरूले तान्नुहुने गोला अनुसार नै पारदर्शी तरिकाले गठन हुन्छ,’ ढकालले लोकान्तर सँग भने।

यसरी तान्नेछन् न्यायाधीशहरूले थैलीबाट अब मुद्दाको गोटी  

गोला तान्ने प्रयोजनका लागि समान रूप, रंग, आकार र बनोटका गोटी प्रयोग गरिनेछ। ती गोटीलाई एक अपारदर्शी थैलीमा राखिनेछ। उक्त थैलीबाट शुरूमा वरिष्ठ न्यायाधीशहरूले एक/एक वटा गोटी तान्नेछन्। तानिएको गोटी सम्बन्धित न्यायाधीशले सबैलाई देखाई गोटीको संकेतांक प्रस्ट बुझिने गरी सुनाउनेछन्। त्यही बेला त्यहाँ सूचना प्रविधि शाखाका कर्मचारीले उक्त अंकको अभिलेख आन्तरिक कम्प्युटरमा प्रविष्ट गर्नुपर्ने हुन्छ।

शुरुमा वरिष्ठ न्ययाधीशहरूले तान्ने गोलाका आधारमा गोला तान्न वञ्चित हुने कनिष्ठ न्यायाधीशहरूमध्ये आफु अनुकूलको न्यायाधीशलाई छानेर संयुक्त इजलास गठन गर्नेछन्।

गोला प्रक्रियाद्वारा इजलास गठन गर्दा क्रमशः वृहत् पूर्ण, पूर्ण, एकल, संयुक्त इजलास गठन हुने गरी प्राथमिकता निर्धारण गरिनेछ । यसरी फरक स्वरूपको इजलासका लागि छुट्टाछुट्टै थैली र गोटीको व्यवस्था गरिने सर्वोच्च अदालतका सूचना अधिकारी ढकालले बताए।

पूर्ण इजलास गठन गर्दा सो दिन उपस्थित भएका न्यायाधीशको संख्या बराबरको गोटी थैलीमा राखिनेछ। १९ जना न्यायाधीश उपस्थित भएको रहेछ भने १ देखि १९ सम्मको अंकको गोटी थैलीमा राखिनेछ। गोटी तान्दा उपस्थित न्यायाधीशहरूद्वारा वरिष्ठताका आधारमा तानिनेछ। बृहत पूर्ण इजलास गठन गर्दा जति सदस्यीय इजलास गठन हुने हो क्रमशः १ देखि सो संख्यासम्म अंकित गोटी तान्ने न्यायाधीशहरूको इजलास गठन हुनेछ ।

एक मात्र पूर्ण इजलास गठन गर्नुपर्ने भएमा १ देखि ३ अंकित गोटी तानिनेछ। दुईवटा पूर्ण इजलास गठन गर्नुपर्ने भएमा ४ देखि ६ अंकित गोटी तान्ने न्यायाधीशको पूर्ण इजलास गठन हुनेछ। बृहत पूर्ण इजलास गठन पनि सोही दिन गर्नुपरे १ देखि ५ अंकित गोटी तान्ने न्यायाधीशको वृहत् पूर्ण इजलास गठन भइसकेपछि मात्र क्रमशः पहिलो तीन अर्थात् ६,७,८ अंकित गोटी तान्ने न्यायाधीश पूर्ण इजलासमा रहनेछन् । ५ भन्दा धेरै न्यायाधीशको बृहत् पूर्ण इजलास गठन गर्नुपर्ने भएमा वा धेरै संख्यामा पूर्ण इजलास गठन गर्नुपर्ने भएमा सोही क्रमले गठन हुने ढकालले बताए।

पूर्ण इजलास भएको दिनमा पूर्ण इजलासका लागि गोला तान्ने कार्य समाप्त भएपछि एक न्यायाधीशको एकल इजलासको लागि गोला तानिनेछ। पूर्ण इजलास नभएको दिनमा एक न्यायाधीशको इजलासका लागि गोला तानेपछि मात्र संयुक्त इजलास गठन हुनेछ। यसरी एकल इजलास गठन गर्दा बृहत् पूर्ण वा पूर्ण इजलासमा संलग्न हुने न्यायाधीशबाहेक अन्य न्यायाधीशद्वारा इजलासका लागि गोटी तानिनेछ। त्यसका लागि पेशी सूची अन्तर्गतका ‘अ’ र ‘आ’ अंकित दुई गोटी र बाँकी अन्य न्यायाधीशको संख्याको बराबर हुने गरी खाली गोटी राखिनेछ।

एक न्यायाधीशको इजलासका लागि गोटी तान्नुअघि संयुक्त इजलास गठनका लागि न्यायाधीश संख्या विचार अनि संयुक्त इजलासका लागि जोर संख्याका न्यायाधीश बाँकी रहने गरी एक न्यायाधीशका लागि वा दुई इजलासको लागि गोटी तानिनेछ। एकल इजलास गठन गर्दा कुनै दिन एक मात्र इजलास गठन हुने भएमा पहिलो गोटी ‘अ’ वा ‘आ’ जे आउँछ सोही समूहको मुद्दा सुनुवाई गरी अर्को समूह स्थगित राखिनेछ।

संयुक्त इजलास गठन गर्दा बृहत् पूर्ण, पूर्ण र एकल इजलास गठन भएपछि उपलब्ध हुन सक्ने जोर संख्याका बाँकी न्यायाधीशमध्ये वरिष्ठताका क्रममा स्थायी इजलास पाउन सक्ने न्यायाधीशको संख्या यकिन गरेर संयुक्त इजलास गठन कार्य प्रारम्भ हुनेछ। त्यसरी वरिष्ठताको क्रमसंख्या जनिने संख्या अंकित गोटी थैलीमा राखिनेछ।

जोर गते भए स्थायी इजलास नपाउने न्यायाधीशको वरिष्ठता अंकित गोटी थैलीमा राखी स्थायी इजलास पाउने न्यायाधीशले गोटी तान्नेछन्। विजोर गते भए स्थायी इजलास पाउने न्यायाधीशको वरिष्ठता अंकित गोटी थैलीमा राखी स्थयी इजलास नपाउने न्यायाधीशले गोटी तान्नेछन्।

‘यसरी थैलीबाट क्रमशः गोटी तान्दा जुन संख्या अंकित गोटी पर्छ त्यसरी गोटी तान्ने न्यायाधीश र गोटीमा अंकित संख्यामा वरिष्ठता इंकित गर्ने न्यायाधीशको संयुक्त इजलास गठन हुनेछ,’ ढकालले लोकान्तरसँग भने, ‘इजलास गठन भएपछि सम्बन्धित इजलासमा रहने न्यायाधीशमध्ये कुनै एक न्यायाधीशले सो दिन सुनुवाइ गरिने मुद्दा समूहको गोला तान्नुपर्नेहुन्छ।’

अहिले गोलाप्रथा लागू नभएको अवस्थामा सामान्यतया ११ वटा इजलास गठन हुने गरेको छ। सोहीअनुसार प्रत्यके दिन उपस्थित भएको न्यायाधीशको संख्याको आधारमा कतिवटा इजलास गठन गर्ने भन्ने कुरा मुख्य रजिष्ट्रारले निर्धारण गर्नुपर्ने हुन्छ।

अहिलेसम्म प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नै मुद्दाको पेशी तोक्दै आएका थिए। आफ्नो तजबिजी अधिकार प्रयोग गर्दै मुद्दाको पेशी तोक्दै आएकोमा ‘बेन्च शपिङ’ भयो भन्ने गम्भीर प्रश्न उठाउदै सर्वोच्च अदालतका बाँकी १९ न्यायाधीशले जबराले तोकेको पेशी नहेरेर अवज्ञा गर्दै आएका थिए।

न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले पनि गोला प्रणालीद्वारा मुद्दाको पेशी व्यवस्थापन गरे बेन्च शपिङको समस्या अन्त्य हुने भन्दै यसलाई लागू गर्न सिफारिश गरेको थियो। तर प्रधानन्यायाधीश जबरा गोलाप्रथा लागू गर्न अनिच्छुक देखिएपछि बाँकी न्यायाधीशहरूले भद्र अवज्ञा गर्दै विद्रोह गर्दै आएका थिए। भोलिदेखि प्रधानन्यायाधीशको उक्त तजबिजी अधिकार कटौती भएर गोला प्रणाली लागू हुने भएको छ।

प्रधानन्यायाधीश बाहेकको इजलास गठन गर्न बारको माग

नेपाल बार एसोसिएसनले पनि गत कात्तिक १४ गतेदेखि प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै धर्ना दिँदै आएको छ। भोलिदेखि लागू हुने गोला प्रणालीलाई भने बारले स्वागत गरेको छ। बारका महासचिव लिलामणि पौडेलले आफूहरूले विगतदेखि गर्दै आएको माग सुनुवाइ हुनु स्वागतयोग्य भएको बताए ।

तर सर्वोच्च अदालतमा गोला प्रणाली लागू गर्दा प्रधानन्यायाधीश जबरा बाहेकको इजलास गठन गर्न उनले आग्रह गरे ।

‘प्रधानन्यायाधीश जबरा बाहेकको इजलास गठन हुनुपर्छ भन्ने हामीले भनिरहेका छौं, यदि उहाँले बलमिच्याइँ गरेर गोला तान्नुभयो भने उहाँ संलग्न भएर गठन हुने इजलासमा नबसिदिन सबै न्यायाधीशहरूलाई हामी आग्रह गर्छौं,’ पौडेलले थपे, ‘यदि जबराको एकल इजलास गठन भयो भने पनि सो इजलासमा बहस पैरवी नगर्न सम्पूर्ण कानून व्यवसायीहरूलाई समेत हामी हार्दिक अनुरोध गर्दछौं।’

उनले मंसिर १ गतेदेखि सबै जिल्ला अदालत र उच्च अदालतमा समेत गोला प्रणाली लागू हुने भनेर परिपत्र गरेको भएपनि लागू नभएकोमा आपत्ति जनाए।

‘त्यसकारण जिल्ला अदालत र उच्च अदालत नियमावलीमा समेत संशोधन गरेर गोला प्रणाली लागू गर्नका लागि सबै जिल्ला र उच्च अदालतमा १ घण्टा कानून व्यवसायीले धर्ना दिने कार्यक्रम तय गरेका छौं,’ महासचिव पौडेलले भने।

साताकाे चर्चित
सम्बन्धित