चिकित्सक र उपकरण अभावले थला परेको रुम्जाटार अस्पताल
चिकित्सक र उपकरण अभावले थला परेको रुम्जाटार अस्पताल
    • बेल संचार

    • १६ मंसिर २०७८, बिहीबार

जिल्ला अस्पताल रुम्जाटारमा गम्भीर प्रकृतिका बिरामीलाई उपचार सेवा लिन निकै सास्ती हुने गरेको छ ।

अस्पतालमा उपचार सम्भव नभएपछि सदरमुकामस्थित सामुदायिक अस्पताल वा राजधानी रेफर गरिन्छ । सामान्य शल्यक्रियासमेत अस्पतालमा हुँदैन ।

 

सरकारी अस्पतालमा उपचार नहुने भएपछि बिरामी प्रारम्भिक उपचार गर्नसमेत रुम्जाटार अस्पताल पुग्दैनन् । रुम्जाटार अस्पतालले सामान्य औषधी तथा चेकजाँच र शव पोस्टमार्टमलगायतका सेवा मात्रै दिँदै आएको छ ।

सरकारी निकायको बेवास्ताले नागरिकलाई नि:शुल्क उपचार सेवा दिन स्थापना गरिएको अस्पतालका अधिकांश बेड खाली हुन्छन् ।

खरिद गरिएका उपकरण अलपत्र

१५ सैय्याको अस्पतालमा दक्ष जनशक्ति र उपकरण व्यवस्थापन नहुँदा नागरिकले उपचार सेवा पाएका छैनन् । अस्पतालमा रहेका करोडौं मूल्य बराबरका उपकरण प्रयोगविहीन बनेका छन् ।

गत आर्थिक वर्षमा कोभिड संक्रमणको उच्च जोखिमको बेला खरिद गरिएका उपकरणहरू तीन महिना बित्दा पनि जडान भएका छैनन् ।

दुईवटा भेन्टिलेटर, पाँचवटा आइसियु बेड, एउटा पिसिआर मेसिन खरिद गरेर ल्याएपछि खोलिएको समेत छैन । अक्सिजन प्लान्ट कात्तिकभित्र जडान गरी अक्सिजन उत्पादन गर्ने भनेर ठेक्का लगाइएको थियो । हालसम्म जडान भएको छैन । यी सबै उपकरण करिब १ करोड ७२ लाख बराबरको हो ।

जिल्ला अस्पतालमा सामान्य शल्यक्रिया कक्षसमेत छैन । कोभिडको संकट दुई चरणमा फैलिएको बेला पिसिआर गर्नका लागि काठमाडौं, धुलिखेल, धरान, विराटनगर सम्म स्वाब संकलन गरेर पठाइएको थियो । सोही समस्या समाधान गर्ने उद्देश्यले जिल्ला अस्पतालमै पिसिआर मेसिन खरिद गरे पनि त्यसका लागि जनशक्ति र व्यवस्थापनको अभाव देखिएको छ ।

उपकरण प्रयोगमा नआउनुको कारणबारे जिल्ला अस्पतालकी सूचना अधिकारी उमा गुरुङले भनिन्,  ‘पिसिआर मेसिन राख्ने कक्ष बनाउनै ५० लाखभन्दा बढी बजेट चाहिने रहेछ ।’

जनशक्ति अभाव

आइसियु बेड र भेन्टिलेटर समेत जडान गरेर सञ्चालन गर्ने जनशक्ति अस्पतालमा छैन । अस्पतालमा एमडिजिपि तहको मेडिकल सुपरिटेन्डेन्टको दरबन्दी भए पनि एमबिबिएस मात्र छन् ।

एक जना स्थायी एमबिबिएस र डेन्टलसहित गरेर अस्थायी चार जना एमबिबिएस चिकित्सक छन् । भएकै चिकित्सकले पनि उपकरण प्रयोगमा नहुँदा आफ्नो दक्षता अनुसारको सेवा दिन सकेका छैनन् ।

शल्यक्रिया गरेर प्रसूति गराउनुपर्ने अवस्थामा हामीले रेफर गर्नुपर्ने अवस्था रहेकाले निकै जोखिम रहेको  जिल्ला अस्पतालका प्रमुख डा. अनिल आचार्यले बताए । उनले भने, ‘हामीसँग अप्रेशन थिएटर छैन । त्यसका लागि आवश्यक व्यवस्थापन पनि छैन ।’

साताकाे चर्चित
सम्बन्धित