पूर्वराजा ज्ञानेन्द्रको ‘ग्रीन सिग्नल’ राजेन्द्र लिङ्देनलाई
पूर्वराजा ज्ञानेन्द्रको ‘ग्रीन सिग्नल’ राजेन्द्र लिङ्देनलाई
    • बेल संचार

    • १६ मंसिर २०७८, बिहीबार

पार्टी विभाजनका बेलामा निर्मल निवाससँग नजिक रहेका केही आधिकारिक व्यक्तिहरूले चाहिनेभन्दा बढी चासो देखाउनुभयो र पार्टी फुट्यो । त्यो तीतो अनुभव हामीसँग छ,’ राप्रपाका अध्यक्ष कमल थापाले सार्वजनिक रूपमा भनेका छन्- ‘यदि पार्टीको आन्तरिक प्रतिस्पर्धामा दख्खल दिने र पक्ष-विपक्षमा बाँडिने कुनै पनि संकेतहरू देखियो भने त्यो अत्यन्तै दुर्भाग्यपूर्ण हुन्छ ।’

महाधिवेशनको सम्मुखमा अध्यक्षका प्रत्यासी थापाले यी सन्दर्भ उप्काउनुले पूर्वराजा ज्ञानेन्द्र शाहसँग थापाको सम्बन्ध हार्दिक छैन भन्ने जनाउँछ । राप्रपा फुटाउने भूमिकामा निर्मल निवासको भूमिका रहेको प्रस्ट बताएका थापाले अहिलेको महाधिवेशन पनि प्रभावित गराउन खोजेको संकेत गरेका छन् ।

त्यसले याे महाधिवेशनमा ज्ञानेन्द्रनिवास ‘निर्मल निवास’ कमल थापाको विकल्पको खोजीमा छ भन्ने सन्देश प्रवाह भएकाे छ । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा थापाको पार्टीले राजसंस्था र हिन्दू धर्मको नारामा बलियो मत ल्याएको थियो । प्रत्यक्षतर्फ एउटै सिट नजिते पनि संविधानसभामा २५ सिट पुर्‍याएको थियो ।

०६४ को संविधानसभा निर्वाचनमा ४ सिटमा सीमित राप्रपा नेपाल राजसंस्था र हिन्दूकै नारामा दोस्रो पटक २५ सिटमा उक्लिएपछि अध्यक्ष थापाले त्यसलाई संगाल्न नसकेको बुझाइ ‘निर्मलनिवास’काे रहेकाे विश्लेषण राप्रपाभित्र छ । थापाले संविधानसभाबाट संविधान जारी गर्ने बेलामा ३ असोज ०७२ मा गणतन्त्र र धर्मनिरपेक्ष संविधानको समर्थन मात्र गरेनन्, लगत्तै गठित एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री भए ।

यी घटनाले राप्रपाकाे मूलः चरित्र स्खलन भएको र जनमत कमजोर भएको बुझाइ ‘निर्मलनिवास’ को छ । त्यसकारण पनि अहिले थापाको विकल्पमा निर्मल निवास अप्रत्यक्षमा सक्रिय रहेको राप्रपाका नेताहरूको बुझाइ छ । निर्मलनिवासको संकेत बुझेर नै पशुपति शमशेर राणा तटस्थ बस्ने निर्णयमा पुगे भने प्रकाशचन्द्र लोहनी थापाको विकल्पमा उदाएका राजेन्द्र लिङ्देनको समर्थनमा देखिए ।

साताकाे चर्चित
सम्बन्धित