काठमाडौँ
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन्।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले ढिलोमा पनि एक वर्षभित्र मुलुकमा निर्वाचन हुने र त्यसपछि आफ्नो पार्टीले सरकार बनाउने दाबी गरेका हुन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी नेतृत्वको सरकार बनेपछि मुलुकमा पुनर्निर्माण र नवर्निर्माणको काम तीव्रताका साथ अघि बढाउने आश्वासन समेत दिए।
अध्यक्ष ओलीले सम्पदाहरूको पुनर्निर्माण, राजमार्ग लगायतका पूर्वाधारको निर्माण कार्य देख्न नसक्नेहरूले आफूलाई सरकारबाट हटाएको पनि दोहोर्याए।
उनले अब मुलुकको विकास र समृद्धिको अभियानलाई निरन्तरता दिन एमालेलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्ने बताए।
उनले भने, ‘चुनाव हुन अब बेस्सरी ढिला भयो भने एक वर्ष हो। एक वर्षमा चुनाव हुनैपर्छ। एक वर्षमा चुनाव भएपछि मैले भनिरहनु पर्लाजस्तो लाग्दैन–अब कसैको सरकार बन्छ ? देशमा। त्यसो भएर एक वर्ष पर्खनुपर्ने हो। त्यसपछि हामी पुनर्निर्माण र नवनिर्माणको कामहरू अगाडि बढाउँछौं र देशलाई समृद्धिको बाटोमा लान्छौं।’
अब बन्ने सरकार हिजोजस्तो नहुने उनले बताए।
‘अब बन्ने सरकार हिजोजस्तो यसलाई तानेर, उसलाई तानेर, जोडेर, यो सँग सहकार्य गरेर, यसको बैशाखी टेकेर, यसलाई मिलाएर, उसलाई मिलाएर गर्यो भने तिनीहरूले आफ्नो खुट्टा त खुस्किदैन नि’, उनले भने, ‘नटबोल्ट लगाएको खुट्टा त नटबोल्ट खुस्काई दिन्छ। खुस्की हाल्छ । मैले अलि केही काम गर्नका लागि नटबोल्ट जोडेको थिएँ। कसलेकसले खुस्काई दियो। खुस्केका खुट्टा गए। मेहनत गरेर जोडियो।’
अध्यक्ष ओलीले आफूले सरकारमा रहेर केही काम गर्न नटबोल्ट जोड्ने काम गरे पनि अरू कसैले फुस्काई दिएको उल्लेख गर्दै अब त्यस्तो नहुने गरी नेपाली जनताले आफ्नो पार्टीलाई मत दिनुपर्ने बताए।