जाजरकाेट । स्वास्थ्य संस्थाहरूको सङ्ख्या थपिँदै गएपछि रुकुमपश्चिमका स्थानीयवासीको सहजरूपमा उपचार गर्ने स्थानीयवासीको पहुँच बढेको छ । वडैपिच्छे स्वास्थ्य संस्था र पालिकास्तरमा अस्पताल बनेपछि स्थानीयवासीले सहजै उपचार पाउन थालेका हुन् ।
अहिले एउटा वडामा कम्तीमा एक अहेव र एक अनमी छन् । स–सानो उपचारका लागि स्थानीयवासीले वडा छाड्नुपर्ने बाध्यता टरेको छ । आधारभूत स्वास्थ्य एकाइमार्फत सर्वसाधारणले वडा तहमै आधारभूत तहको स्वास्थ्य सेवा पाएका छन् । त्यस्तै गाउँपालिका र नगरपालिकामा स्थानीयवासीले चिकित्सकबाटै उपचार सेवा पाइरहेका छन् ।
जिल्लामा छ स्थानीय तह छन् । स्थानीय तह कार्यान्वयनमा आएसँगै स्वास्थ्य संस्थाको सङ्ख्या पनि बढेको हो । छ स्थानीय तहमा छवटा अस्पताल छन् । दुई अस्पताल पुराना हुन् भने चार स्थानीय तहले आफैँ चिकित्सकसहितको अस्पताल सञ्चालनमा ल्याएका छन् । मुसीकोट नगरपालिकामा जिल्ला अस्पताल र चौरजहारीमा चौरजहारी अस्पताल पहिल्यै थिए । आठबीसकोट नगरपालिकाले ९ नं वडाको राडीमा नगर अस्पताल सञ्चालन गरेको छ । चौरजहारीले १० नं वडाको खोलागाउँ, सानीभेरीले ७ नं वडाको छोटेबगर र त्रिवेणीले ३ नं वडाको खारानेटामा अस्पताल सञ्चालन गरेका छन् ।
जिल्लाका चार स्थानीय तहले बनाएका अस्पतालले मात्रै करिब ६२ हजार बिरामीको उपचार गरेका छन् । चौरजहारी नगरपालिकाका स्वास्थ्य संयोजक डन्डप्रसाद शर्माले नगरपालिकाले स्थापना गरेको अस्पतालबाट सर्वसाधारणले नजिकै सेवा पाइरहेको बताउनुभयो ।