साढे ३३ किलो सुन तस्करी प्रकरणका अभियुक्त काले भनिने कृष्णगोपाल अग्रवाललाई धरौटीमा छाड्ने अदालतले आदेश दिएको छ ।
मंगलबार जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले थुनछेक बहसपछि उनलाई २ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएका श्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले जानकारी दिए । अग्रवाल आइतबार पक्राउ परेका थिए ।
तस्करी गरेर ल्याएको साढे ३३ किलो हराएपछि यो गिरोहका नाइके चुणामणि उप्रेती ‘गोरे’को समूहले यातना दिने क्रममा भरिया सनम शाक्य मारिएका थिए । गोरेसहित ७७ जना विरुद्ध दायर भएको ‘आपराधिक समूह स्थापना र सञ्जाल गरी सुनको अवैध चोरी पैठारी र निकासी, अपहरण र शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दा’मा काले पनि प्रतिवादी थिए ।
जिल्ला अदालतले सुन तस्करी एवं सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दाको फैसला गत असोज १९ गते गरेको थियो । जसमा पक्राउ परेका ५७ जनाले सुन तस्करी मुद्दामा सफाइ पाए । शाक्य अपहरण र हत्या मुद्दामा ८ जनालाई दोषी ठहर भए ।
तीमध्ये गोरेसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको फैसला भएको छ। प्रतिवादीमध्ये राजन कुमारलाई ३ वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजायको फैसला अदालतबाट भएको थियो ।
काले भनिने कृष्णगोपाल गोरेले आयात गर्ने सुनको लगानीकर्ता मध्येका एक हुन् । उनलाई अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा आइतबार यूएईबाट नेपाल ल्याइएकाे थियाे ।