मस्र्याङ्दी करिडोर २२० केभी डबल सर्किट विद्युत प्रसारण लाइन तीनबर्षदेखि पालुङ्टारमा रोकियो
मस्र्याङ्दी करिडोर २२० केभी डबल सर्किट विद्युत प्रसारण लाइन तीनबर्षदेखि पालुङ्टारमा रोकियो
    • बेल संचार

    • २२ मंसिर २०७८, बुधबार

मस्र्याङ्दी करिडोर २२० केभी डबल सर्किट विद्युत प्रसारण लाइन बिस्तारको काम स्थानीयबासीको अबरोधका कारण तीन बर्षदेखि अबरुद्ध भएको छ । निर्माणाधीन स्मार्टसिटी र एयरपोर्ट जोखिममा पर्ने भन्दै पालुङ्टारका स्थानीयबासीले तीनबर्षदेखि अबरुद्ध गरेको आयोजना प्रमुख चिरन्तन विक्रम राणाले जानकारी दिए ।

गोरखाको पालुङ्टारस्थित करिब छ किलोमिटर खण्डको १० वटा टावर निर्माण गर्ने काम २०७५ को माघ महिनादेखि ठप्प भएको आयोजना प्रमुख राणाले बताए ।

२०७३ सालको माघ महिनाबाट डिपिआर गरी आयोजनाको काम सुरु गरिएको थियो । चार पटकसम्म ‘रुट’ परिवर्तनबारे छलफल गरे पनि आयोजनाले काम अघि बढाउन नसकेको गोरखा उद्योग वाणिज्य संघ, पालुङटार बजार इकाइका पूर्व अध्यक्ष आशिष देवकोटाले जानकारी दिए ।
पालुङ्टार नगरपालिका वडा नम्बर ४ र ५ को मुख्य बस्ती क्षेत्र छलेर कम क्षति हुने गरी रुट निर्धारण गर्न नगरबासीले अनुरोध गरेको देवकोटाले बताए । ‘पालुङटार बजार भनेको पहाडी जिल्लाको एउटा निर्माणाधीन स्मार्ट सिटी हो । यहाँ २२० केभीको प्रशारण लाइन बिस्तार गरेपछि स्माटसिटीको संरचना समाप्त हुन्छ’, उनले भने, ‘त्यसैले हामीले रुट परिवर्तन गर्न भनेका हौँ । मुख्य नगर, एयरपोर्ट त बिगार्नु भएन । बैकल्पिक रुटहरु पनि हुन सक्छन् । खोजी गर्नुप¥यो नि तर आयोजनाले बिकल्प खोज्दै खोज्दै खोजेन ।’

विवाद लम्बिएपछि प्रतिनिधि सभा सांसद डाक्टर बाबुराम भट्टराई, चुडामणि खड्का, प्रदेशसभा सांसद तथा गण्डकी प्रदेशका उर्जा जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य, नगरपालिकाका मेयर दीपकबाबु कँडेल, उपमेयर पम्फा बसेल, सहरी विकास मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण, उर्जा मन्त्रालय र आयोजनाका सहसचिवहरु सहभागी बैठकले बिकल्प खोज्ने निश्कर्ष निकालेका थिए ।‘बस्ती र एयरपोर्ट छल्ने, वन क्षेत्र, सार्वजनिक जग्गा भएको ठाउँ खोजेर बैकल्पिक बाटो अपनाउनु पर्नेे निश्कर्ष निकालियो’, मन्त्री आचार्यले भने, ‘तर आयोजनाले अहिलेसम्म बैकल्पिक बाटो अपनाएको छैन र त्यही बाटो लैजान विभिन्न चलखेल गरिरहेको छ भन्ने जनगुनासो आएको छ । यदि आयोजनाले बल प्रयोग गरेर बस्तीकै बाटो अपनायो भने प्रतिरोध हुन्छ । त्यसको जिम्मेवारी आयोजनाले लिनुपर्छ ।’यसबारेमा पूर्व प्रधानमन्त्रीसमेत रहेका डाक्टर भट्टराईसहितको टोलीले विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङलाई समेत भेटेर बस्तुस्थितिको अवगत गराएको उनले बताए ।
पालुङ्टार खण्डभन्दा अघि पनि पछि पनि काम अघि बढिरहेको तर सो खण्डको १० वटा टावरको काम मात्र रोकिएको आयोजना प्रमुख राणाको भनाइ छ । सो खण्डको विवाद पनि मिलाएर यथासीघ्र काम अगाडि बढाउने पक्षमा आयोजना रहेको उनी बताउँछन् । सो क्षेत्रका वडा अध्यक्ष तथा सरोकार राख्ने स्थानीयबासीसित छलफल भइरहेको उनको भनाइ छ ।

मनाङको धारापानीबाट चितवनको भरतपुरस्थित न्यु भरतपुर सबस्टेशनसम्मको ६७ किलोमिटर विद्युत प्रशारण लाइन २०२० भित्र सम्पन्न गर्ने गरी २०१७ जनवरीदेखि टेण्डर भएर काम सुरु गरिएको थियो । सो कार्यक्रमका लागि युरोपेली इन्भेष्ट बैंकको नौ करोड अमेरिकी डलर सहुलितपूर्ण ऋण प्राप्त भएको थियो ।

साताकाे चर्चित
सम्बन्धित