बीउमा समेत परनिर्भर बन्दै नेपाल, एक वर्षमै २.६७ अर्बको आयात
बीउमा समेत परनिर्भर बन्दै नेपाल, एक वर्षमै २.६७ अर्बको आयात
    • बेल संचार

    • २५ मंसिर २०७८, शनिबार

नेपाल विभिन्न किसिमका कृषि बालीको बीउमा समेत परनिर्भर बन्दै गएको छ । खासगरी स्थानीय बीउलाई बेवास्ता गरी हाइब्रिड बीउको खोजी गर्दा परनिर्भरता बढ्न पुगेको हो । आर्थिक वर्ष २०७७/७८ मा मात्रै नेपालले २ अर्ब ६७ करोड ३१ लाख २५ हजार ९ सय ७९ रुपैयाँबराबरको बीउ विभिन्न देशबाट आयात गरेको छ । यसमा धान, मकै र विभिन्न तरकारी बालीका बीउ परेका छन् ।

केन्द्रका अनुसार देशभरमा विभिन्न कृषि बालीका गरी कुल बीउको माग करिब ४५ हजार मेट्रिक टन छ भने आपूर्ति करिब ३८ हजार मेट्रिक टन छ । आर्थिक वर्ष २०७७/७८ मा धानको बीउ आयात गर्दा १ अर्ब ६१ करोड ४२ लाख ९९ हजार २ सय ६७ रुपैयाँ, मकैमा ५१ करोड ६ लाख ८५ हजार ५९ रुपैयाँ र तरकारीको बीउमा ५४ करोड ८१ लाख ४१ हजार ६ सय ५३ रुपैयाँ बाहिरिएको छ ।

बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख बेनुप्रसाद प्रसाईंले पछिल्लो समय हाइब्रिड बीउको आयात बढ्दै गएको बताए । उनका अनुसार किसानको मागअनुसार स्वदेशमा हाइब्रिड जातको बीउ उत्पादन गर्न नसक्दा बर्सेनि यस्तो बीउको आयात बढ्दै गएको हो । मकैको शतप्रतिशत र धानको ९० प्रतिशत हाइब्रिड जातको बीउ आयात हुन्छ ।

नेपालले हालसम्म तीनवटा बालीको मात्रै हाइब्रिड बीउ उत्पादन हुने गरेको छ तर त्यो मागअनुसार प्रयाप्त छैन । नेपालले धान, मकै र गोलभेंडाको हाइब्रिड बीउ विकास गरेको छ । नेपालमा गोलभेंडाको सिर्जना, खुमल-१ र खुमल-२ जातको हाइब्रिड बीउको विकास भएको छ ।

बीउबीजन गुणस्तर नियन्त्रण केन्द्रको तथ्यांकअनुसार नेपालमा मकैका सातवटा हाइब्रिड बीउ विकास भएका छन्, गौरभ हाइब्रिड, रामपुर हाइब्रिड-१०, रामपुर हाइब्रिड-८, रामपुर हाइब्रिड-६, रामपुर हाइब्रिड-४, रामपुर हाइब्रिड-२ र खुमल हाइब्रिड मकै २ पर्छन् । धानमा हर्दिनाथ हाइब्रिड-१ एफ र हर्दिनाथ हाइब्रिड-३ एफ गरी दुईवटा जातको बीउको विकास गरिएको छ ।

साताकाे चर्चित
सम्बन्धित