उखुकाे मूल्य निर्धारणका लागि सराेकारवालासँग छलफल शुरू
उखुकाे मूल्य निर्धारणका लागि सराेकारवालासँग छलफल शुरू
    • बेल संचार

    • २६ मंसिर २०७८, आईतवार

सरकारले उखुको मूल्य निर्धारण गर्नका लागि सरोकारवालासँग छलफल गरेको छ । उखुको क्रसिङ सिजन नजिकिएकाले यस वर्षको उखुको बिक्री मूल्य तोक्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नेपाल उखु उत्पादक महासंघसहिका सरोकारवाला निकायसँग छलफल गरेको हो ।

यसवर्ष उखुको मूल्य यसैसाता तोक्ने गरी तयारी भइरहेको मन्त्रालयका प्रवक्ता प्रकाश सन्जेलले जानकारी दिनुभयो।
यस वर्षको उखुको मूल्य तोक्न उखुको पकेट क्षेत्र मानिने तराईका १० जिल्लामा गएर स्थलगत अध्ययन गरिएको र प्रत्येक जिल्लाबाट ३० भन्दा बढी अध्ययन नमुना संकलन गरिएको मन्त्रालयले जनाएको छ । गत वर्ष सरकारले उखुको प्रतिक्विन्टल न्यूनतम मूल्य ५ सय ४४ रुपैयाँ ३३ पैसा तोकेको थियो ।

उखुको मूल्य ३ सय ८६ रुपैयाँ १६ पैसा, ढुवानी खर्च र मुनाफा ९२ रुपैयाँ ८९ पैसा र सरकारले प्रतिक्विन्टल अनुदान ६५ रुपैयाँ २८ पैसा थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल ६ सय रुपैयाँभन्दा बढी हुनुपर्ने नेपाल उखु उत्पादक महासंघको माग छ ।

गत वर्ष सरकारले मंसिर तेस्रो साता उखुको मूल्य तोकेको थियो । चिनी मिलहरूले उखु क्रसिङका लागि यसवर्ष तयारी थाले पनि अझै कृषि मन्त्रालयले मूल्य टुंग्याउन सकेको छैन । गत वर्ष एक लाख २० हजार मेट्रिक चिनी उत्पादन भएको तथ्यांक छ । मुलुकमा वार्षिक दुई लाख ५० हजार मेट्रिक टन चिनीको माग छ ।

साताकाे चर्चित
सम्बन्धित