हामी सिंह हौँ , सिंह जसरी गर्जिनु पर्छ – प्रचण्ड
हामी सिंह हौँ , सिंह जसरी गर्जिनु पर्छ – प्रचण्ड
    • बेल संचार

    • २६ मंसिर २०७८, आईतवार

काठमाडै । आज नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु भेडा नभएर सिंह भएको बताएका छन् ।

माओवादी केन्द्रको ७ वटा भौगोलिक र २ गैरभौगोलिक गरी ९ प्रदेशको अधिवेशलाई संयुक्त रुपमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूहरु सिंह भएकाले सिंहजसरी गर्जिनुपर्ने बताएका हुन् ।

‘भेडासँगै हिडेकाले हामी पनि भेडा भयौँ कि भन्ने छ’ पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भने, ‘हामी भेडा होइनौँ, सिंह हौँ, हामी सिंहजसरी गर्जिनुपर्छ । सबै आआफ्नो ठाउँबाट गर्जिऔँ ।’

अध्यक्ष प्रचण्डले माओवादीलाई हराउन सक्ने तागत नेपालमा अहिले कसैसँग नभएको जिकिर समेत गरे । ‘कमरेडहरु, हामीलाई अहिले हेप्न खोजेको छ, केही प्रतिक्रियावादी दलालहरुले हामीलाई हेप्न खोजेका छन्, त्यसको मुल कारण हामी नौँ हौँ, हाम्रै कारणले हामीलाई हेप्न खोजेको हो’ अध्यक्ष प्रचण्डले भने, ‘हामी आफैँ कन्फ्युजनमा परेर हेपेको हो । हामी आफैँ कन्फ्युजमा परेरै हेपेको हो ।’

राष्ट्र जनता र मानव जातिको लागि काम गर्ने पार्टी माओवादी हो भन्ने कुरा स्थापित गर्ने नै माओवादीका लागि चुनौती भएको भन्दै उनले भने, ‘यसका लागि इतिहास र विज्ञानको अध्ययन गर्न जरुरी छ ।’

माओवादीका लागि अहिले विचारको विकास र क्रान्तिकारी रुपान्तरण नै मुख्य कुरा भएको उनको भनाई छ । प्रचण्डले आफूहरु अर्कै बिरासत र जातका मान्छे भएको समेत बताए ।

‘म युवा, महिला मजदुर सबैलाई आक्रमक ढंगले प्रस्तुत हुन अपिल गर्दछु । आउँदो चुनावमा हामी १ नम्बर हुने हो ।’ उनले भने, ‘तपाईहरु आक्रमक ढंगले प्रस्तुत हुनुस् । हामी आक्रमक ढंगले हामी प्रस्तुत भयौँ भने दक्षिणपन्थी विदेशी दलालले केही गर्न सक्दैनन् ।’

माओवादी केन्द्रको आज ९ प्रदेशको अधिवेशन उदघाटन भएको छ । माओवादीको अधिवेशनमार्फत आज प्रदेश तहमा नयाँ नेतृत्व पाउँदैछ ।

माओवादीको प्रदेश तहमा अध्यक्ष, उपाध्यक्ष तीन, सचिव एक, सहसचिव ३ र कोषाध्यक्ष १ गरी ९ जना पदाधिकारी हुनेछन् । माओवादीले सदस्य संख्याको आधारमा प्रदेश तहमा सदस्य संख्या बढाएको छ ।

माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस ११, १२ र १३ गते काठमाडौंमा सम्पन्न हुँदैछ । माओवादीले यो राष्ट्रिय सम्मेलनमार्फत् नयाँ विचार निर्माण गर्ने तयारी गरेको छ ।

साताकाे चर्चित
सम्बन्धित