सोल्मामा प्राङ्गारिक मलक उत्पादन
सोल्मामा प्राङ्गारिक मलक उत्पादन
    • बेल संचार

    • २७ मंसिर २०७८, सोमबार

खोटाङ ।  खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा स्थापना गरिएको प्राङ्गारिक मल उद्योगबाट उत्पादन सुरु भएको छ । रासायनिक मल प्रयोग हुँदै आएको नगरपालिकालाई आगामी पाँच वर्षभित्र पूर्ण अर्गानिक बनाउन स्थापना गरिएको सो उद्योगबाट गुणस्तरीय प्राङ्गारिक मल उत्पादन थालिएको हो ।

उत्पादित मल अनुदानमा वितरण भइरहेको नगरपालिकाका सूचना अधिकारी मोहनकुमार भट्टराईले जानकारी दिए । “पहिलो चरणमा नगरपालिकाभित्रका कृषकलाई अनुदानमा वितरण गर्ने तयारी छ”, उहाँले भन्नुभयो, “अगामी दिनमा नगरपालिकाकै अगुवाइमा डिलरमार्फत बिक्री वितरण गर्ने व्यवस्था मिलाइनेछ ।”

 

उत्पादित मल मलिलो र गुणस्तरीय भएको नगरपालिकाका कृषि शाखा प्रमुख धर्मेन्द्र कलौनीले बताए । अर्थमन्त्रालयको अनुदानबापतको रु तीन करोड ३२ लाखको लागतमा सोल्मामा प्राङ्गारिक मल उद्योग र बायोग्यास प्लान्ट स्थापना गरिएको हो । सो कार्यका लागि रुपाकोट मझुवागढी नगरपालिकाका कार्यपालिका सदस्य गङ्गाबहादुर विश्वकर्माले दुई रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको छ । मल उत्पादनका लागि कुहिने, सड्ने र मक्किने वस्तु प्रतिकिलो दुई रुपैयाँका दरले स्थानीयबाट खरिद गर्ने गरिएको छ ।

साताकाे चर्चित
सम्बन्धित