बुटवल,
अर्थ मन्त्रालयले बजेट निकासा नगरेपछि लुम्बिनी प्रदेशसभाको निर्माणाधीन भवनको काम रोकिएको छ । दाङ देउखुरीस्थित राप्ती गाउँपालिका-३ को राप्ती प्राविधिक शिक्षालय हाताभित्र निर्माण भइरहेको भवनको काम निर्माण कम्पनीले तीन दिनदेखि रोकेको हो ।
प्रदेशसभाको हिउँदै अधिवेशन नयाँ भवनमा गर्ने गरी भवन निर्माण सम्पन्न गर्ने भनिए पनि एकाएक काम रोकिएपछि निर्माणअवधि फेरि लम्बिने भएको छ । हाल प्रदेशसभाको अधिवेशन बुटवलमा भाडाको घरमा सञ्चालन भइरहेको छ । लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेले अर्थले बजेट नदिँदा काम रोकिएको बताए ।
‘हामीले प्रदेशसभा भवनको डिजाइन परिवर्तन गरी अर्थमन्त्रालयसँग थप तीन करोड रकम माग गरेका थियौं, तर अर्थले स्वीकृति नदिएकाले तत्कालका लागि काम रोकिएको छ,’ उनले भने ।
प्रदेशसभा भवनको लागत पाँच करोड २९ लाख रुपैयाँ भएपनि डिजाइन परिवर्तन गर्दा थप बजेट लाग्ने भएपछि अर्थमन्त्रालयसँग माग गरिएको उनको भनाई छ । ‘भवनमा ढुंगाको छानो, सो छानो लगाउँदा आवश्यक पर्ने फलामको पातालगायतका सामग्री थप्न प्रदेश पूर्वाधार विकास प्राधिकरणले १० दिनअघि अर्थसँग बजेट मागिएको थियो,’ उनले भने ।
आवश्यक बजेटको मागसहित प्राधिकरणले अर्थमन्त्रालयमा भेरिएसनका लागि भन्दै पत्र पठाएको हो । ‘अहिले छुट्टिएको बजेट नयाँ संरचना थप्नका लागि अपुग हुन्छ, बजेट अपुग हुन भएपछि काम रोकिएको हो,’ उनले भने ।
प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख घिमिरेका अनुसार हालसम्म भवनको ६५ प्रतिशत काम सम्पन्न भइसकेको छ । प्रदेशसभाको हिउँदे अधिवेशन यही भवनमा गर्ने गरी निर्माण कम्पनीले दिन र रात गरी दुई सिफ्टमा काम गरिरहेको थियो ।
प्रदेशसभाको भवन निर्माणका लागि गत २४ वैशाखमा ठेक्का सम्झौता गरी निर्माण कार्यको सुरुवात गरिएको थियो । ठेक्का सम्झौतामा २०७८ साउन मसान्तभित्रै भवन निर्माण गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने उल्लेख छ । तर, सम्झौता अनुसार काम नभएपछि निर्माण कम्पनी परिवर्तन गरी अर्कोलाई ठेक्का दिइएको हो ।
सुरुमा भवन निर्माणका लागि ड्रागन जेभी बस्नेतलाई ठेक्का दिइएकोमा सम्झौता अनुसार काम नभएपछि अर्का निर्माण व्यवसायी यज्ञ केसीलाई निर्माणको जिम्मा दिइएको छ ।