माओवादीले प्रचण्डपथ छोडेपछि आन्दोलन कमजोर बन्यो – मन्त्री शर्मा
माओवादीले प्रचण्डपथ छोडेपछि आन्दोलन कमजोर बन्यो – मन्त्री शर्मा
    • बेल संचार

    • २ पुष २०७८, शुक्रबार

अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य जनार्दन शर्माले पार्टीले प्रचण्डपथको कार्यदिशालाई छोड्नु गलत भएको बताएका छन्।

काठमाडौंमा आयोजित जनसांस्कृतिक महासंघ नेपालको सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा शर्माले पार्टीले तत्कालिन अवस्थामा लिएको प्रचण्डपथ र २१औं शताब्दीको जनवादलाई छोड्नु गम्भिर गल्ती भएको बताएका हुन्।

प्रचण्डपथ भित्र सबै वर्ग, जाति, लिंग र समुदायको भावनाको संश्लेषण रहनुका साथै सामाजिक अन्तरविरोधहरुलाई समाधान गर्ने वैचारिक संश्लेषण रहेको उनको भनाई छ। यसलाई केही पनि होइन जस्तोगरी फ्याक्दा अहिलेको अवस्थामा पार्टीमा निराशा पैदा भएको उनले बताए।

‘हामीसँग भएको विचार, हामीले प्रचण्डपथ, २१औं शताब्दीको जनवादको जो संश्लेषण गरेका थियौं, त्यसको सही सदूपयोग र कार्यान्वयन गर्ने कुरामा, नयाँ सन्दर्भमा त्यसलाई विकसित गरेर जानुपर्ने आवश्यकतालाई छाडेर हामीले त्यसलाई हापि दियौं,’ उनले भने, ‘पार्टी केन्द्रीय समितिले गम्भिर गल्ती गर्‍यो। त्यसलाई नयाँ संश्लेषण गरेर जानुको सट्टा फ्याक्नुको कारण आज निराशा पैदा भएको हो। त्यसले विकेन्द्रीकरण गर्‍यो, पार्टीमा फुट, विभाजन भयो।’

अर्थमन्त्री शर्माले माओवादीले आफ्नो नेतृत्वमा भएको परिवर्तनको स्वामित्व लिन नसकेको उल्लेख गरे। माओवादीले विद्रोह वा चुनावको सम्बन्धमा पनि दोधारे कुरा गरेका कारण पार्टी वैचारिक रुपमा अस्पष्ट भएको उनले बताए। उनले पार्टी नेतृत्वलाई दिएको प्राधिकार खोस्नाले पार्टी टुटफुट, विभाजन र कमजोर भएको जिकिर गरे। उनले राष्ट्रको समृद्धि, आत्मनिर्भरता र राष्ट्रिय स्वाधिनताको पक्षमा नयाँ जागरण पैदा गर्नुपर्ने आवश्यकता औँल्याए।

साताकाे चर्चित
सम्बन्धित