मिस वर्ल्ड’ प्रतियोगिता स्थगित भएको छ । केही प्रतियोगी, आयोजक र कर्मचारीमा कोरोना भाइरस संक्रमण भएपछि प्रतियोगिता अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
मिस वर्ल्ड आयोजकले प्रेस विज्ञप्ति जारी गर्दै ९० दिनभित्र अवस्था सामान्य भएको खण्डमा प्रतियोगिता आयोजना गर्ने जनाएको छ ।
यो प्रतियोगिता अमेरिकाको पुएर्तो रिकोमा आयोजना गर्ने तयारी गरिएको थियो । यसका लागि विश्वका सुन्दरीहरु केही हप्तादेखि पुएर्तोमा वर्कसप गरिरहेका थिए ।
शुरुमा सात जना प्रतिस्पर्धीमा कोरोना संक्रमण पुष्टि भएको थियो । यसपछि अन्यको परीक्षण गर्दा पनि कोरोना देखिएपछि पुएर्तो रिकोको स्वास्थ्य विभागले प्रतियोगिता रोक्न निर्देशन दिएको हो ।
प्रतियोगितामा भाग लिनका लागि नेपालबाट मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ पनि अमेरिका पुगिसकेकी छन् । अब आयोजकले सबै प्रतियोगीहरुको कोरोना परीक्षण गरेर उनीहरुलाई आफ्नो देश फर्काउने तयारी गरेको छ ।