दुई साता लामो सहमति प्रयास विफल भएपछि नेकपा माओवादी प्रदेश १ मा निर्वाचन
दुई साता लामो सहमति प्रयास विफल भएपछि नेकपा माओवादी प्रदेश १ मा निर्वाचन

प्रदेश समितिका सदस्यबीचमा मतदान हुने निर्वाचनले प्रदेश पदाधिकारी चयन गर्नेछ। नौ पदाधिकारीका लागि ४० जनाभन्दा बढीको दाबी छ।

    • बेल संचार

    • ७ पुष २०७८, बुधबार

अधिवेशन सकिएको दुई सातासम्म पदाधिकारी चयनका लागि गरिएको सहमति प्रयास विफल भएपछि नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीमा अन्ततः निर्वाचन नै हुने भएको छ ।

माओवादीले प्रदेश पदाधिकारी चयनका लागि गठन गरेको कार्यदलका अनुसार सहमतिको प्रयास विफल भएपछि चुनाव हुने निश्चित भएको हो। ‘कहिले र कतिबेला निर्वाचन तय हुन्छ भन्ने कुरा छलफलकै क्रममा छ,’ कार्यदलका एक सदस्यले भने, ‘अब चुनावमा जाने निश्चित भयो।’ ती सदस्यका अनुसार आजै चुनाव हुने सम्भावना छ। विराटनगरस्थित पार्टी प्रदेश कार्यालयमा भेला भएका उम्मेद्वारहरुले भोट माग्न सुरु गरिसकेका छन्।

प्रदेश समितिका सदस्यबीचमा मतदान हुने निर्वाचनले प्रदेश पदाधिकारी चयन गर्नेछ। नौ पदाधिकारीका लागि ४० जनाभन्दा बढीको दाबी छ। पदाधिकारीमध्ये अध्यक्षमा मात्रै ७ जनाले दाबी गरेका छन्। ३ जना उपाध्यक्षको लागि एक दर्जनभन्दा बढीको दाबी रहेको छ। यस्तै १ जना सचिवका लागि आधा दर्जनको दाबी छ।

यसअघि आ–आफूले दाबी गर्दै फेसबुकको प्रचारमा देखिएकाहरुले पार्टीको औपचारिक फोरममा मङ्गलबारको बैठकमा राखेका छन्। अध्यक्षमा दाबी राख्नेमध्ये मोरङ विराटनगरका हेम कार्की (विशाल) ले आफ्नो उम्मेद्वारी फिर्ता लिएर सहमतिका साथ नेतृत्व चयनमा जोड दिएका थिए।

खोटाङका ध्रुव बुढाथोकीले भने अध्यक्षमा आफू हुनुपर्ने कारण तथा पार्टी निर्माणको कार्ययोजना प्रस्तुत गरेका थिए। सोही जिल्लाका देवान चाम्लिङ पृथ्वीले भने ध्रुब बुढाथोकी अध्यक्ष बन्दा आफू छोड्न तयार भएको बताएका थिए। अन्य उम्मेद्वार बनेको खण्डमा आफू पनि अध्यक्षको उम्मेद्वार रहेको उनको जिकिर थियो। दाबी गर्नेमा झापाका मणिकुमार साम्पाङ, सुनसरीका शिवकुमार डाँगी, मुक्साहाङ मेन्याङ्बो, पाँचथरका हर्कबहादुर नेम्वाङ र उदयपुरका मोहनकुमार खत्री छन्।

महिला उपाध्यक्षमा संखुवासभाकी ईन्दिरा मिश्र, झापाकी सरुरू न्यौपाने, मोरङकी विनिता घिमिरे, धनकुटाकी धनकुमारी वि.क.लगायतले दाबी गरेका छन्।

यस्तै समावेशी उपाध्यक्षमा मोरङका भोगेन्द्र यादवले दाबी गरेका छन्। खुल्ला उपाध्यक्षमा सुनसरीको भोला बस्नेतले दाबी गरेका छन्। अध्यक्षमा दाबी गर्नेमध्येबाटै उपाध्यक्षमा झर्ने सम्भावना रहेकोले दाबी गर्नेको संख्या कम रहेको माओवादी स्रोतले दाबी गरेको छ ।

सचिवमा मोरङका गणेश उप्रेती, झापाका सिपी कडरिया, सुनसरीबाट आइन्द्र विक्रम बेघा, धनकुटाबाट ऋषिराम ढुंगाना, ओखलढुंगाबाट मोहनकुमार खड्कालगायतले दाबी गरेका छन्।

साताकाे चर्चित
सम्बन्धित