स्थानीय तहको चुनाब हुने मिति तोकियो
स्थानीय तहको चुनाब हुने मिति तोकियो
    • बेल संचार

    • ७ पुष २०७८, बुधबार

काठमाडौ – निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आउँदो वैशाख २० गते सात सय ५३ वटै पालिकाको चुनाव हुने बताएका छन् ।

अहिलेको जनप्रतिनिधिको पाँच वर्षे अवधि पूरा हुँदै गरेका कारण २० गतेभन्दा उता जाननसकिने उनको भनाई छ । पालिका सरकार रिक्त रहने विषय कल्पनासमेत गर्न नसकिने उनको भनाई छ ।

छिट्टै नै पालिका निर्वाचनको मिति तय गर्नका निम्ति सरकारसमक्ष सिफारिस गर्ने आयोगले तयारी गरिरहेको बताए । त्यसपछि २०७९ फागुनभित्र सबै प्रदेशको प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रपति, उपराष्ट्रपति पदको चुनाव सम्पन्न गरेर नयाँ जनप्रतिनिधि तथा नयाँ नेतृत्व सुम्पने कार्यमा आयोग प्रवेश गरिसकेको उल्लेख गर्दै त्यसका लागि चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययीरूपमा कार्य गर्न आयोगलाई सहयोग गर्न सञ्चारकर्मीलाई आग्रह गरे ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले अब आउने चुनाव लैङ्गिक एवम् समावेशी दृष्टिकोणले उपयुक्त हुने बताए । निर्वाचन आयोगले काभ्रेपलाञ्चोकको धुलिखेलमा आजदेखि सुरु भएको दुई दिने ‘निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी महिला पत्रकारसँग कार्यशाला गोष्ठीु मा उहाँले चुनाव आउनै लाग्दा महिला पत्रकारलाई राखेर विभिन्न विषयमा छलफल गर्न लागिएको बताए ।पत्रकार विचार र समाचार सम्प्रेषण गर्ने मात्रै नभएर परिवर्तनको संवाहक, दुःख–सुख बिसाउने, आपत् विपदमा भरपर्दो साथी र सामाजिक जागरण ल्याउने सारथी पनि भएका कारण आयोगले महिला पत्रकारसँगको छलफल कार्यक्रमलाई अगाडि बढाएको प्रमुख आयुक्त थपलियाले सुनाए ।‘निर्वाचन सञ्चालन र व्यवस्थापनका सन्दर्भमा त्यसलाई कसरी अगाडि बढाउने भन्ने विषयमा केन्द्रित भएर छलफल हुनेछ’, उनले भने, ‘जसबाट प्राप्त सुझावलाई आउँदा दिनमा आमसञ्चारको क्षेत्रलाई निर्वाचनका सन्दर्भमा व्यवस्थापन गर्ने उपयुक्त रणनीति बनाउने छौँ ।’

कार्यक्रममा उनले बहुदलीय व्यवस्थामा दल महत्त्वपूर्ण सरोकार हुने भएकाले राजनीतिक दलको दर्ता, नियमन विवाद निरूपणका साथै चुनावका विभिन्न व्यवस्थापन गर्ने क्रममा मतदानस्थल, मतदान केन्द्रको व्यवस्थापनको काम गर्ने हुँदा चुनावलाई लक्षित गरेर विभिन्न नीति, रणनीति, आचारसंहिताको कार्यान्वयनको काममा केन्द्रित रहेर गर्दै आएको काममध्ये अहिले सञ्चालन भएको बताए उनले आमसञ्चार क्षेत्रलाई चुनावसँग जोड्नका निम्ति पनि कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । चुनाव गतिलो भयो भने मात्रै शासक, प्रतिनिधि गतिलो हुने उल्लेख गर्दै उनले निर्वाचन आयोग र त्यसभन्दा बाहिरका सरोकारवाला राजनीतिक दल, उम्मेदवार तथा अन्य सरोकारवाला निकायसमक्ष जोड्ने पुलको काम सञ्चार जगतले नै गर्ने भएकाले त्यसमा सहयोग गर्न पत्रकार र सञ्चार गृहलाई आग्रह गरे ।

गोष्ठीमा छापा र टेलिभिजनलगायतका सञ्चारमाध्यममा कार्यरत २६ महिला पत्रकारको सहभागिता छ । गोष्ठीमा निर्वाचन चक्र र निर्वाचन प्रक्रिया, नेपालमा आमसञ्चारको अवस्था, मिडिया साक्षरता र निर्वाचनको रिपोर्टिङ, निर्वाचन, निर्वाचन आयोग र आमसञ्चार व्यवस्थापन, निर्वाचनमा आमसञ्चारको अनुगमन र नियमन, निर्वाचन व्यवस्थापनमा लैङ्गिकता तथा समावेशीता, निर्वाचनमा सामाजिक सञ्जाल उपयोग, चुनौती र अवसर, अप्ठ्यारो अवस्थामा निर्वाचनको रिपोर्टिङ र डिजिटल युगमा निर्वाचन तथा मिडियाका विषयमा छलफल हुने आयोगले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित