चितवन । वंश विस्तार गर्ने उद्देश्यले यहाँ ल्याइएका अर्ना बचाउन मुस्किल भएको छ । विसं २०७३ का माघमा कोशीटप्पु वन्यजन्तु आरक्ष र सदर चिडियाखाना काठमाडौँबाट चितवन राष्ट्रिय निकुञ्जमा अर्ना ल्याइएको थियो ।
चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टर जमिनमा दुई खुल्ला खोर बनाएर अर्ना राखिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार यसवर्ष साउनयता १० अर्ना मरेका छन् । तत्कालीन समयमा कोशीटप्पुबाट १२ र चियाखानाबाट तीन अर्ना ल्याइएको थियो । तीमध्ये ६ अर्ना बाढी र बाघका कारण मरेका थिए । विसं २०७४ का बाढीमा पाँच अर्ना मरेको थियो, भने एउटा बाघले खाएको थियो । त्यसयता चार पाडापाडी जन्मिएका थिए । उनका अनुसार यसवर्ष ६ भाले र ४ पोथी मरेका हुन् । खोरमा तीन वटा पोथी मात्र बाँकी छन् ।