‘ज्येष्ठ नागरिकका समस्या बुझिदिनुस्’
‘ज्येष्ठ नागरिकका समस्या बुझिदिनुस्’

 ज्येष्ठ नागरिकका पक्षमा राज्यले ल्याएका ऐन, कानून पनि प्रभावकारी नभएकामा उनीहरुको गुनासो छ ।

    • बेल संचार

    • १२ पुष २०७८, सोमबार

बागलुङ
ज्ञान, सीप र अनुभवका खानी ज्येष्ठ नागरिकको सम्मानजनक जीवनयापनमा राज्य सहयोगी बन्नुपर्ने आवाज उठेको छ । प्रथम ज्येष्ठ नागरिक राष्ट्रिय दिवसका अवसरमा यहाँ आयोजित समारोहमा बोल्ने वक्ताले अहिले पनि ज्येष्ठ नागरिकका हकअधिकार कुण्ठित भइरहेको बताएका हुन् ।

ज्येष्ठ नागरिकका पक्षमा राज्यले ल्याएका ऐन, कानून पनि प्रभावकारी नभएकामा उनीहरुको गुनासो छ । ज्येष्ठ नागरिक जिल्ला सङ्घका आजीवन सदस्य चयनकुमारी श्रेष्ठले राज्य, समाज र परिवारले ज्येष्ठ नागरिकका समस्या बुझिदिन आग्रह गर्नुभयो ।

“देउता समान ज्येष्ठ नागरिक परिवारबाट एक्लिँदै गएका छन्, राज्यले प्रदान गर्ने सेवा, सुविधा, छुट र आरक्षण पनि सहीरुपमा कार्यान्वयन हुन सकेको छैन”, सङ्घद्वारा आयोजित समारोहमा उहाँले भन्नुभयो । श्रेष्ठले ज्येष्ठ नागरिकले अस्पतालमा समेत लाममा उभिएर सेवा लिनुपर्ने स्थिति रहेको दुःखेसो पोख्नुभयो ।

नेपाल सरकारका पूर्वकर्मचारी ७५ वर्षीय बुद्धिबहादुर केसीले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाका लागि मासिक भत्ता दिइए पनि त्यो प्राप्त गर्ने प्रक्रिया भने ज्येष्ठ नागरिकमैत्री नभएको बताउनुभयो । “भत्ता बुझ्न लठ्ठी र अरुको सहायताले बैंक धाउनुपर्ने बाध्यता छ, ज्येष्ठ नागरिक कति त हस्ताक्षर गर्न पनि नजान्ने हुनुहुन्छ, उपयुक्त नीति र विधि बनाएर उहाँलाई घरघरै भत्ता पु¥याइदिने व्यवस्था गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

स्थानीय तहहरुले त्यसको प्रबन्धका लागि पहल लिनुपर्ने केसीको सुझाव छ । उमेर, मानसिक, शारीरिक आदि कारण बुढ्यौली अवस्था संवेदनशील हुने भएकाले ज्येष्ठ नागरिकको जीवनयापनका लागि उचिव वातावरण चाहिने उहाँको भनाइ छ ।

“जीवनको उत्तरार्धमा चाहिने भनेको आनन्द र शान्ति हो, हाम्रा ज्येष्ठ नागरिकका लागि त्यसैअनुसार वातावरण बनाइदिनुपर्छ”, केसीले भन्नुभयो । ज्येष्ठ नागरिकमा पनि एकल पुरुष र एकल महिलाको अवस्था झनै कष्टपूर्ण हुने गरेको उहाँले बताउनुभयो ।

साताकाे चर्चित
सम्बन्धित