कर्णाली नदीमा भइरहेको उत्खननका कारण टीकापुर जोखिममा परेको भन्दै जनस्तरबाट गुनासो आउन थालेपछि टीकापुर नगरपालिकाले चालू आर्थिक वर्षमा कर्णाली नदीमा नदीजन्य पदार्थको उत्खननका लागि ठेक्का बन्द गरेको छ ।
यसभन्दा पहिलेका वर्षमा नगरपालिकाले नदीजन्य पदार्थको उत्खननका लागि ठेक्का प्रक्रियामार्फत नदीजन्य पदार्थको उत्खनन गराउँदै आएको भए पनि यसवर्ष बाढीका कारण टीकापुर क्षेत्रमा ठूलो क्षति भएकोले पनि नगरपालिकाले नदीको ढुङ्गा, गिट्टी तथा बालुवाको उत्खननका लागि ठेक्का नदिएको हो ।
नगरपालिकाले ठेक्का दिएपछि निर्माण व्यवसायीले मापदण्डअनुसार नदीजन्य पदार्थको उत्खनन गर्नुपर्ने भए पनि त्यसको अनुगमन हुन नसक्दा र सजिलो ठाउँबाट आवश्यकता भन्दा बढी दोहन गर्दा राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना नै खतरामा पर्न लागेको भन्दै गुनासो बढ्न थालेको थियो । त्यसपछि यसवर्ष नदीजन्य पदार्थको उत्खनन बन्द गरेको टीकापुर नगरपालिकाका नगरप्रमुख तपेन्द्रबहादुर रावलले बताएको छ ।