आचारसंहिता उल्लंघन र आर्थिक कारोबारमा मुछिएका ११ सय प्रहरी कारबाहीमा
आचारसंहिता उल्लंघन र आर्थिक कारोबारमा मुछिएका ११ सय प्रहरी कारबाहीमा
    • बेल संचार

    • १३ पुष २०७८, मंगलवार

नेपाल प्रहरीको आचारसंहिता उल्लंघन गर्ने र आर्थिक कारोबारमा समेत मुछिएका १ हजार १ सय प्रहरी कर्मचारीहरु कारबाहीमा परेका छन् ।संगठनभित्रै महिला हिंसामा संलग्न रहेका तथा अन्य आचारसहिंता उल्लंघन गरेको आरोपमा एसपीसहित कारबाहीमा परेका हुन् ।

नेपाल प्रहरीले सोमबार गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार आर्थिक वर्ष २०७८\७९ को साउन महिनादेखि मंसिर मसान्तसम्म ११ सय ४५ प्रहरी अधिकारी कारबाहीमा परेका हुन् ।

 

प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरका अनुसार कारबाही पर्नेमा प्रहरी उपरीक्षक (एसपी) देखि प्रहरी कार्यालय सहयोगीसम्म रहेका छन् । प्रहरी निरीक्षकदेखि एसपीसम्मका १९ जना अधिकारीहरु कारबाहीमा परेका छन् । तर प्रहरी प्रधानकार्यालयले उनीहरुलाई ठूलो कारबाही भने गरेको छैन । एसएसपी कुँवरका अनुसार एसपी ३ जना, डीएसपी ४ जना र इन्स्पेक्टरको संख्या १२ जना रहेको छ ।

यस्तै, प्रहरी नायव निरीक्षक(सई) ४६ जना, प्रहरी सहायक निरीक्षक (असई) ८६ जना, हवल्दार ३०५ जना, जवान ६७५ जना र कार्यालय सहयोगी १४ जना गरी जम्मा ११ सय ४५ प्रहरीलाई प्रहरी नियमावली अनुसार कारबाही गरिएको छ ।

उहाँहरुले प्रहरी आचरण तथा प्रहरी नियमावली विपरीत काम गरेकाले कारवाही गरिएको छ’, एसएसपी कुँवरले भने । प्रहरी नियमावली विपरित कार्य गर्नेहरुलाई कारबाही गरिएको उनको भनाई थियो । उनका अनुसार १९ सय ८० प्रहरीलाई पुरस्कार समेत दिइएको छ ।

उत्कृष्ट काम गरेको भन्दै पुरस्कार पाउनेमा १ डीआईजी, ६ एसएसपी, २१ एसपी, ७७ डीएसपी, १६४ इन्स्पेक्टर छन् । त्यस्तै, २६४ सई, २८८ असई, ४४१ हवल्दार, ७३३ जवान र ३ कार्यालय सहयोगीलाई पुरस्कार दिइएको छ । गत आर्थिक वर्षको यही अवधिमा १ हजार ६ सय ९० जनाले पुरस्कार पाएका थिए भने ९ सय ४४ जनाले प्रहरी नियमावली विपरित कार्य गरेको भन्दै सजाय पाएका थिए ।

पुरस्कार पाउनेको संख्या १७.१६ प्रतिशतले बढेको छ भने सजाय हुनेको संख्या २१.२९ प्रतिशतले बढेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

साताकाे चर्चित
सम्बन्धित