विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पछिल्लो एक सातामा विश्वभर कोभिड–१९ का नयाँ संक्रमितको संख्या ११ प्रतिशत बढेको बताएको छ।
बुधबार महामारीको अपडेट दिँदै डब्ल्यूएचओले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टसहितको संक्रमणको जोखिम अझै पनि उच्च रहेको बताएको हो। डब्ल्यूएचओका अनुसार केही मुलुकमा ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्टमाथि हावी भइसकेको छ।
डब्ल्यूएचओका अनुसार ओमिक्रोन भेरियन्टसहितको नयाँ संक्रमितको संख्या २ देखि ३ दिनमा दोब्बर हुने गरेको पाइएको छ।
अमेरिका र बेलायतमा अहिले धेरैजसो मानिसमा ओमिक्रोन भेरियन्टसहितको संक्रमण देखिएको छ।
केही युरोपेली मुलुकमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोनाका नयाँ संक्रमित भेटिएको समयमा डब्ल्यूएचओले यस्तो तथ्यांक सार्वजनिक गरेको हो। यद्यपि दक्षिण अफ्रिकामा भने पछिल्लो एक सातामा कोरोनाका नयाँ संक्रमितको संख्या २९ प्रतिशतले घटेको छ।
दक्षिण अफ्रिकामा सबैभन्दा पहिला ओमिक्रोन भेरियन्टसहितको संक्रमित फेला परेका थिए।