जापान सरकारले फेब्रुअरीमा सरकारी भन्डारबाट ६ लाख ब्यारेलभन्दा धेरै तेल लिलाम विक्री गर्ने भएको छ । सोमबार जापानको उद्योग मन्त्रालयले यस्तो बताएका हो । मन्त्रालयका अनुसार फेबु्रअरी ९ मा ६ लाख २८ हजार ९८० ब्यारेल (१ लाख किलोग्राम) तेल लिलाम विक्रीको आयोजना गरिनेछ ।
विश्व बजारमा तेलको भाउमा भएको वृद्धिलाई अंकुश लगाउन अमेरिका समेत प्रमुख तेल खपतकर्ता देशहरुसँग मिलेर जापानले सरकारले आकस्मिक समयमा प्रयोगका लागि भनेर सञ्चिति गरेर राखेको तेल बेच्न लागेको हो । तेल दक्षिण पश्चिम जापानको शिबुशी टयांकबाट निकालिनेछ । यो मार्च २० वा सो भन्दा पछाडि लिलामी बोलकबोल जित्ने क्रेताका लागि उपलब्ध गराइने मन्त्रालयले विज्ञप्तिमा भनेको छ ।
अमेरिकी अनुरोधको प्रतिक्रियामा सरकारी भन्डारमा रहेको तेलबाट केही लाख ब्यारेल तेल निकाल्ने निर्णय गत महीना सरकारले गरेको थियो । जापान सरकारले यसरी सरकारी भन्डारबाट तेल निकाल्न लागेको यो पहिलो पटक हो । आफूहरु तयार भएपछि थप तेल झिकेर बेचिने मन्त्रालयका एक अधिकारीले बताएको भन्दै रोयटर्सले एक समाचारमा भनेको छ ।मन्त्रालयले नोभेम्बरको अन्त्यमा यो योजना सार्वजनिक गरेयता विश्व बजारमा तेलको भाउ प्रतिब्यारेल ५ डलरभन्दा धेरैले घटिसकेको छ । भाउ घटेपनि तेल लिलामीको योजना यथावत् रहने उद्योग मन्त्री कोइची हागिउदाले यही महीनाको शुरुमा भनेका थिए । अमेरिकी ऊर्जा मन्त्रालयले पनि रणनीतिक भन्डारबाट १ करोड ८० लाख ब्यारेल झिकेर जनवरी ४ मा कम्पनीहरुलाई बेच्दैछ ।