नेपाल एयरलाईन्सको नेपाल जापान उडान स्थगित
नेपाल एयरलाईन्सको नेपाल जापान उडान स्थगित
    • बेल संचार

    • १४ पुष २०७८, बुधबार

नेपाल र जापानबिच सिधा हवाई उडान भर्दै आएको एकमात्र राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाईन्सको डिसेम्बर २८ तारिख नेपालबाट जापानको लागि हुन लागेको उडान अन्तिम समयमा रद्द हुन पुगेको छ ।नेपाल एयरलाईन्स जापान स्थित कार्यवाहक कन्ट्रि मेनेजर गौरवी चन्द शाहका अनुसार बिमानमा प्राविधिक समस्या देखिएपछि उड्ने तयारीका बिच अन्तिम समयमा उडान रद्द गरिएको हो ।

डिसेम्बर २८ तारिख नेपालबाट जापान आएर डिसेम्बर २९ तारिख बिहान जापानबाट नेपाल फर्कने कार्यतालिका रहेको नेपाल एयरलाईन्सको बिमान चेकजाँचपछि सम्भव भएसम्म २९ तारिख साँझ नेपालबाट उडाउने योजना नेपाल एयरलाईन्सले बनाएको छ । यसको लागि बिमानको प्राविधिक चेकजाँच सहित जापानको उडान तालिका मिलाउनुपर्नेछ ।

उडान रद्द भएपछि नेपालबाट जापान आउने तयारीमा रहेका करिव एक सय यात्रु बिमानस्थल पुगेर वा जाने क्रममा रोकिन पुगेका छन् । जापानबाट २९ तारिख बुधवार नेपाल जाने तयारीमा रहेका यात्रुहरु समेत पीसीआर परीक्षण लगायत सबै तयारी गरेपनि उडान नहुँदा के गर्ने भन्ने समस्यामा परेका छन् । नयाँ उडानको तालिकाबारे बुधवार एयरलाईन्सले सूचना जारी गर्नेछ । तत् पश्चात आगामी जनवरी ४ तारिख अघि हुने उडान तय गरिनेछ ।नेपालबाट आउनुपर्ने बिमान आउन नपाएपछि २९ तारिख बुधवार जापानबाट नेपाल जाने तयारीमा रहेका यात्रुहरुले यसै समाचारलाई जानकारी मान्दै २९ तारिखको नेपाल एयरलाईन्सको उडानको लागि नारिता अन्तर्राष्ट्रिय बिमानस्थल नजान तथा आफुले टिकट काटेको ट्राभल वा नेपाल एयरलाईन्स सम्बद्ध कर्मचारीहरुलाई सम्पर्क गरि जानकारी लिएर मात्र एयरपोर्ट जानुहुन अनुरोध गर्दछौं ।

साताकाे चर्चित
सम्बन्धित