साझा परम्परागत मौलिक संस्कृति र सभ्यता नेपालीको पहिचान र गौरव हो : प्रम देउवा
साझा परम्परागत मौलिक संस्कृति र सभ्यता नेपालीको पहिचान र गौरव हो : प्रम देउवा
    • बेल संचार

    • १५ पुष २०७८, बिहीबार

प्रधानमन्त्री शेरबहादुर देउवाले तमू समुदायको भाषा, संस्कृति र सभ्यताको संरक्षण एवं सम्वर्द्धन गर्न नेपाल सरकारले सक्दो सहयोग गर्ने बताउनुभएको छ ।

तमू ल्होसार २०७८ का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले यस पर्वले तमू÷गुरुङ समुदायहरू र विभिन्न धर्म, संस्कृति, समुदाय र क्षेत्रसँग आबद्ध नागरिकबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता सुदृढ गर्न सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

उहाँले यस पर्वले मुलुकको आर्थिक तथा सामाजिक विकासमा गुरुङ समुदायले पुर्याउँदै आएको योगदानलाई सबैसमक्ष उजागर गर्न र यस समुदायको सभ्यता र संस्कृतिलाई अरू समुदायसमक्ष चिनाउन मद्दत पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो । तमू (गुरुङ) समुदायले यस पटकको आफ्नो महान् चाड तमू ल्होसार ‘ल्वों ल्हो’ (गाई वर्ग) वर्षको बिदाइ तथा ‘तो ल्हो’ (बाघ वर्ग) वर्षको स्वागत गरी मनाइरहेका छन् ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, “नेपाल विभिन्न जातजाति, सम्प्रदाय, भाषाभाषी, धर्म र सांस्कृतिक समूहहरू मिलेर बनेको साझा देश हो । सबै समुदायहरूबीच रहेको सह–अस्तित्व, पारस्परिक सहयोग र सहिष्णुता तथा साझा परम्परागत मौलिक संस्कृति र सभ्यता नेपालीको पहिचान र गौरव हो । यिनै साझा र मौलिक सांस्कृतिक पक्षहरूले अनेकतामा एकताको भावना सिर्जना गर्दै हाम्रो राष्ट्रिय एकता र अखण्डतालाई सुदृढ तुल्याएका छन् ।”

ल्होसार चाड विशेष गरी भोट बर्मेली समुदायका मानिसहरूले मनाउने महान् चाड हो । यो चाड नेपालमा मात्र नभएर विश्वका अन्य मुलुकहरूमा पनि मनाउने गरिन्छ । नेपालमा यो समुदायले मनाउने ल्होसारहरूमा तमू ल्होसार, (तोला ल्होसार), सोनाम ल्होसार र ग्याल्बो ल्होसार हुन् । यीमध्ये तमू ल्होसारको आफ्नै विशिष्ट इतिहास र परम्परा रहेको उल्लेख गर्दै उहाँले आदिमकालमा कुनै वैज्ञानिक गणना पद्धतिको विकास नहुँदाको समयमा पनि यस समुदायका त्यतिबेलाका अग्रज पुर्खाहरूले विभिन्न जीवजन्तुलाई आधार बनाई वर्ष गणना गर्ने पद्धतिको विकास गरेको बताउनुभयो । त्यही परम्पराको निरन्तरताको रूपमा आजको दिनलाई गुरुङ जातिले तमू ल्होसारका रूपमा मनाउने गरेका छन् ।

प्रधानमन्त्री देउवाले विश्वव्यापी महामारीको रूपमा रहेको कोभिड–१९ का कारणले सम्पूर्ण समाजलाई प्रभाव पारेकाले स्वास्थ्य सुरक्षाका मापदण्डहरूको पालनासहित यस पर्वलाई मनाउनु बुद्धिमानी हुने सुझाव पनि दिनुभयो ।

साताकाे चर्चित
सम्बन्धित