कास्की । गृहमन्त्री बालकृष्ण खाँणले पोखराको सुन्दरता र यहाँका फेवालगायतका तालहरूको संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन नेपाल (रेवान) पोखराको आयोजनामा आजदेखि पर्यटकीय सहर लेकसाइडमा सुरु भएको २३औँ संस्करणको सडक महोत्सवको उद्घाटन गर्दै उनले पोखरालाई सुन्दर रूपमा रहन दिनुपर्नेमा जोड दिए ।
उनले भने, “पोखराको सुन्दरतालाई कायम राख्न स्थानीय सरकार जिम्मेवार र संवेदनशील बन्नुपर्दछ । प्रदेश सरकारले समन्वय गर्ने काम गरोस् भन्ने आग्रह गर्न चाहन्छु । सङ्घीय सरकार पोखरालाई सदैव शान्त, सुन्दर राखिरहन प्रतिबद्ध छ ।” फेवातालको संरक्षणका लागि आएका प्रतिवेदनहरु अध्ययन गरेर कार्यान्वयन गरिने गृहमन्त्री खाँणले प्रतिबद्धता जनाए ।