प्रधानमन्त्री रोजगार कार्यक्रममा किर्ते कामदार खडा गरी उपभोक्ता समितिद्वारा लाखौं रकम हिनामिना
प्रधानमन्त्री रोजगार कार्यक्रममा किर्ते कामदार खडा गरी उपभोक्ता समितिद्वारा लाखौं रकम हिनामिना
    • बेल संचार

    • १५ पुष २०७८, बिहीबार

बझाङ । दुर्गाथली गाउँपालिका वडा नम्बर ६ मा किर्ते कामदार खडा गरेर उपभोक्ता समितिले लाखौं रकम हिनामिना गरिएको तथ्य फेला परेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत वडामा ग्रावेल बाटो निर्माण गर्नका लागि बनेको उपभोक्ता समितिले किर्ते कामदार बनाएर लाखौं रकम कुम्ल्याएको हो ।

गाउँपालिकाको ५ सय मिटर (नैरेथुन–चौपाटा ग्रोवेल) बाटो निर्माणका लागि बनेको उपभोक्ता समितिले १० जना किर्ते कामदार खडा गरेर बैंकबाट ५ लाख रुपैयाँ बढी रकम लिएको प्रमाण बझाङ साइपाल डटकमले फेला पारेको हो । गत वर्ष फागुनमा सडक निर्माणका लागि ३३ जना कामदारले निरन्तर एक सय दिन काम गरेको भएपनि बैंकबाट भने ४३ जनाको नाममा रकम निकालिएको फेला परेको हो । समितिले प्रतिव्यक्तिको प्रतिदिनको ज्याला ५ सय १७ रुपैयाँ तोकेको थियो । एक जनाले सय दिन काम गर्दा ५१ हजार ७ सय रुपैयाँ पाउँछन् । त्यसमध्ये १ प्रतिशत कर कट्टी गर्दा ५१ हजार १८३ रुपैयाँ प्रति कामदारले पाएका थिए ।

३३ जनाले एक सय दिन काम गर्दा कुल १७ लाख ६ हजार रुपैयाँ हुन आउँछ । तर, बैंकबाट ४३ जनाको नामबाट कुल २२ लाख २३ हजार रुपैयाँ भुक्तानी भएको देखिएको छ ।समितिले १० जना किर्ते कामदार खडा गरेर ५ लाख १७ हजार रुपैयाँ अतिरिक्त भुक्तानी गरेको भेटिएको हो ।

स्थानीयहरुले उपभोक्ता समितिका अध्यक्ष सुन्दर बिक, सचिव अर्जुन धामी र वडा अध्यक्ष धिरज बहादुर जाग्रीको मिलोमतोमा रकम हिनामिना गरेको आरोप लगाए । उनीहरुले किर्ते कामदार खडा गरेर ५ लाख १७ हजार रुपैयाँ कुम्ल्याएको स्थानीयको आरोप छ । उनीहरुले आफुहरुसँग गल्ति पनि स्वीकार गरिसकेको बताएका छन् ।

४३ जनाले नै काम गरेको हो : अध्यक्ष बिक
नैरेथुन–चौपाटा ग्रोवेल बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष सुन्दर बिकले ४३ जनाले नै काम गरेको दावी गरे । उनले १ सय दिनमा ४३ जनाले काम गरेको तर ४३ जना निरन्तर काममा सहभागी नभएकोले स्थानीयले शंका गरेको बताए ।

काममा को–को आए उनीहरुको हाजिरी लगाउने मेरो काम थियो, ३३ जना निरन्तर काममा आउँथे, तर १० जना कामदारको कहिले छोराछोरी त कहिले घरको अन्य सदस्य पठाउँथे, त्यसैले उनीहरुले शंका गरेका होलान्, हामीले रकम हिनामिना गरेका छैनौं,’ उपभोक्ता समितिका अध्यक्षले सफलताका साथ सम्पन्न भएको जानकारी गराए ।

१५ हजारको आश्वासनमा रकम भुक्तानी
दुर्गाथली गाउँपालिकाका स्थानीयले उपभोक्ता समितिका केही पदाधिकारी र वडा अध्यक्षले १० जना किर्ते कामदारलाई १५ हजार रुपैयाँ दिने आश्वासनले हस्ताक्षर गर्न लगाएको बताएका छन् ।उनीहरुले १५ हजार रुपैयाँ दिने र बैंकबाट रकम भुक्तानीका लागि हस्ताक्षर गरिदिन आग्रह गरेको बुझिएको हो ।

‘स्थानीय कलसी देवी धामी कहिल्यै पनि काममा आउनु भएको थिएन, तर उहाँलाई १५ हजार रुपैयाँ दिएर चामल लगायत खाद्यान्न खरिद गर्नुस् भनेको रहेछ, मैले काम गरेको छैन पैसा किन भनेर सोध्दा हस्ताक्षर गरिदिनुस्, तपाईँलाई हामीले सहयोग गरेका हौं, भनेर वडा अध्यक्ष लगायतले भनेको हामीले जानकारी पाएको जानकारी दिए । ती स्थानीयका अनुसार कलसी सहित अन्य ९ जना किर्ते कामदारलाई पनि १५ हजार रुपैयाँ दिएर हस्ताक्षर गर्न लगाइएको हो ।

उपभोक्ता समतिका पदाधिकारीहरुले दुर्गाथली गाउँपालिकामै रहेको कुमारी बैंकमा खाता खोलेर सबै रकम भुक्तानी गरेका छन् । दुर्गाथली गाउँपालिकाले पनि ४३ जनाकै नाम सिफारिस गरेर उनीहरुको खातामा रकम जम्मा गर्न कुमारी बैंकलाई पत्राचार गरेको छ ।

अहिले स्थानीयहरुले सो विषयमा छानविन गर्न गाउँपालिकालाई निवदेन समेत दिएका छन् । उनीहरुका अनुसार यस विषयमा अहिले गाउँपालिकाले अनुसन्धान गरिरहेको छ ।

साताकाे चर्चित
सम्बन्धित