जापानका निजी रेल्वे कम्पनीहरुको संगठन ‘जेपीआरए’ले स्टेशन र रेलभित्र सबैभन्दा रिस उठ्दा व्यवहारहरुको यस वर्षको नयाँ सूचि सार्वजनिक गरेको छ । आफ्नो वेबसाइटमा २ हजार ६ जनाले भरेर बुझाएका प्रश्नावलीको आधारमा संगठनले सो सूचि निकालेको हो । जापानी रेलयात्रीहरु सबैभन्दा धेरै चिढिने १० बानीहरु निम्नानुसार छन्ः
भिडभाड धेरै भएको डब्बमा खानपिन गर्नुलाई ११ दशमलव ६ प्रतिशतलाई रिस उठ्दो बताएका छन् । यस वर्ष यो सूचिको १० औं स्थानमा छ । गत वर्षको सूचिमा यो १४ औं स्थानमा थियो । सहयात्रीहरुको हेडफोनबाट बाहिर आवाज निस्किएको देख्दा १६ दशमलव ३ प्रतिशतलाई झिँझो लागेको पाइएको छ । सूचिमा यो ९ औं स्थानमा छ । मातिएको अवस्थामा रेलभित्र चढ्ने प्रवृत्तिलाई १६ दशमलव ९ प्रतिशतले मन पराएका छैनन । रित्ता क्यान लगायत फोहोरहरु छाड्ने बानी १८ दशमलव ३ प्रतिशतले रिस उठ्दो पाएका छन् । यो सूचिमा सातौं स्थानमा छ ।
मानिसहरुले आफ्ना सामान समाउने वा राख्ने तरिका मन नपराउनेको संख्या १९ प्रतिशत छ । स्मार्टफोनको प्रयोगलाई २१ प्रतिशतले रिस उठ्दो बताएका छन् । हिड्दा हिड्दै स्मार्टफोन चलाउने वा भिडभाड धेरै भएको ठाउँमा स्मार्टफोन हेर्ने आदि व्यवहार रिस उठ्दो बानीको सूचिमा पाँचौं स्थानमा छ । १० औं स्थानमा रहेको बानी बाहेक शीर्ष १० भित्र अन्य बानीहरुमा खासै ठूलो हेरफेर पाइएको छैन । स्मार्टफोन चलाउने, फोहोर गर्ने र झोला राख्ने तरिका सबै गत वर्षकै स्थानमा छन् ।
अब कुरा गरौं जापानीहरुलाई सबैभन्दा धेरै चिढाउने शीर्ष पाँच बानीहरु । चौथौं स्थानमा आसपास हेर्दै नहेरी खोक्नु र हाँच्छियू गर्नु रहेको छ । यसलाई २७ दशमलव २ प्रतिशतले रिस उठ्दो बताएका छन् । चढ्दा वा ओर्लिदा बाटै छेक्ने बानी २९ दशमलव ८ प्रतिशतले मन नपराएको पाइएको छ । यी तीन बानी गत वर्षझैं यस वर्ष पनि क्रमशः चौथौं र तेस्रो स्थानमा छ । सिटमा मानिसहरु बस्ने तरिका यस वर्ष दोस्रो स्थानमा छ । खुट्टा फैलाएर बस्ने, अरुमाथि अढेस लगाएर सुत्ने जस्ता तरिका मन पराउनेको संख्या ३७ दशमलव ४ प्रतिशत छ । यो गत वर्षको सूचिमा पहिलो स्थानमा थियो ।ठूल्ठूलो स्वरमा कुराकानी गर्ने बानी देखेर चिढिनेको संख्या ३९ दशमलव १ प्रतिशत रहेको छ । गत वर्ष यो सूचिमा दोस्रो स्थानमा थियो । रेलभित्र ठूलो आवाज निकालेर बोल्ने बानीलाई जापानमा सधैं हेयको दृष्टिले हेरिन्छ । कोरोना भाइरसको महामारीको समयमा यो झनै बर्जित बनेको छ । तपाई पनि अर्को पटक रेलमा यात्रा गर्दा यी कुराहरुलाई ध्यान दिनुहोस् है ।