नेकपा(माओवादी केन्द्र)का अध्यक्षपुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता तथा कार्यकर्ताले दिएको सुझावका आधारमा राजनीतिक प्रतिवेदनलाई समृद्ध बनाउने विश्वास दिलाएको छ । आफ्नो राजनीतिक प्रतिवेदनमाथि छलफलका क्रममा उठेका प्रश्नहरूका जवाफ दिँदै उनले प्रतिवेदनपछि बन्दशत्रको हलदेखि बाहिर तरङ्ग, उत्साह र जिज्ञासा व्यक्त भएको तथा महाधिवेशनप्रति देशको ध्यान केन्द्रित रहेकाले सबैको चासोलाई उपयुक्त रूपमा सम्बोधन गर्ने बताए ।
उनले पार्टीलाई जनपक्षीय बनाउन र देश तथा जनताको हितमा केन्द्रीत गर्न आफैबाट शुरु गर्ने प्रतिवद्धता व्यक्त गर्दै माओवादी मात्रै भरोसायोग्य शक्ति हो भन्ने स्थापित गराएरै छाडिने दृढता व्यक्त गरे । अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि विभिन्न २५ समूह बनाएर मङ्गलबार र बुधबार मध्याह्नसम्म छलफल भएको थिए । छलफलका क्रममा उठेका विषयमाथि बुधबार र बिहिबार समूहका नेताले बन्दशत्र हलमा जानकारी गराएका थिए । त्यसक्रममा उठेका समग्र प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले आज दिएको हो । उनले माओवादीको महाधिवेशनका कारण देशको राष्ट्रिय राजनीतिमा समेत नयाँ ऊर्जा प्राप्त भएको बताए ।