केन्द्रीय सदस्यहरुको नाम घोषणा गर्ने माओवादीको तयारी
केन्द्रीय सदस्यहरुको नाम घोषणा गर्ने माओवादीको तयारी
    • बेल संचार

    • १७ पुष २०७८, शनिबार

नेकपा माओवादी केन्द्रले जारी आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत शनिबार नै आगामी कार्यकालका लागि केन्द्रीय सदस्यहरुको नाम घोषणा गर्ने तयारी गरेको छ ।

सकेसम्म सहमतिबाटै केन्द्रीय सदस्यहरुको नामावली टुंगो लगाएर घोषणा गर्न माओवादी केन्द्रले बन्दसत्र शनिबार अपराह्न ५ बजेसम्म स्थगित गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गर्नुभएको राजनीतिक प्रतिवेदन, स्थायी समिति सदस्य देवप्रसाद गुरुङले पेश गर्नुभएको विधान मस्यौदा पारित भएसँगै सहमतिबाट केन्द्रीय समितिको टुङ्गो लगाउन बन्दसत्र स्थगित गरिएको हो ।

सहमतिका लागि साँझ ५ बजेसम्म बन्दसत्र स्थगित भएको कर्णाली प्रदेश समितिका अध्यक्ष विमला केसीले जानकारी दिनुभयो ।

आरक्षित व्यवस्था अनुसारको केन्द्रीय समितिको ट्ङ्गो लगाउन महाधिवेशनस्थल प्रज्ञा भवनमा स्थायी समिति बैठक बसिरहेको छ ।

महाधिवेशनबाट शनिबार नै केन्द्रीय समितिको टुङ्गो लगाउने माओवादीको तयारी छ ।

विधानअनुसार अब पार्टीको केन्द्रीय समिति ५० प्रतिशत खुला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ ।

केन्द्रीय समिति २ सय ९९ सदस्यीय हुनेछ ।

यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने भनिएकामा बढाएर १५ प्रतिशत पु¥याइएको छ ।

महाधिवेशनले केन्द्रीय समिति, केन्द्रीय समितिले पोलिटब्यूरो, स्थायी समिति र पदाधिकारी चयन गर्नेछ ।

पोलिटब्यूरो, स्थायी समिति र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुनेछन् ।

५० प्रतिशतको पूर्ण समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको आरक्षित क्षेत्र बनाइएको छ ।

केन्द्रीय समितिमा सबै आरक्षित र खुलाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्षमुनिका युवाको प्रतिनिधित्व हुनेछ ।

साताकाे चर्चित
सम्बन्धित