सुर्खेत मेडिकल कलेजकाे गुरुयोजना तयार, सर्वेको काम शुरू
सुर्खेत मेडिकल कलेजकाे गुरुयोजना तयार, सर्वेको काम शुरू
    • बेल संचार

    • १९ पुष २०७८, सोमबार

सुर्खेत मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना मार्फत गुरुयोजना निर्माण सकिएको छ । गुरुयोजना निर्माण भएर प्रारम्भिक सर्वेको काम भईरहेको आयोजना कार्यालयले जनाएको हो।

वीरेन्द्रनगर नगरपालिका ११ र १३ वडाका बस्तीपुरको बतासे डाँडामा मेडिकल कलेजका लागि गुरुयोजना बनाईएको छ।

गुरुयोजना र प्रारम्भिक सर्वेमा ८२ विगा जग्गा अधिग्रहणका लागि तयारी गरिएको छ । ‘गुरुयोजना निर्माण भईसकेको र सर्वेको काम भईरहेको छ । सुर्खेत मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाका निर्देशक हेमकुमार ढकालले भन्नुभयाे, ‘अब, वातावरणीय प्रभाव मुल्याङ्कन (आईई) हुनेछ । त्यसपछि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार भएपछि निर्माणका कामहरु हुन्छ।’

गत दुई वर्षमा आएको पुँजीगत रकम पनि डिपीआर तयार नुहँदा खर्च भएन् । गत दुई आर्थिक वर्षमा १० करोडका दरले २० करोड आएको नेपाल सरकारले विनियोजन गरेको थियो। यो आर्थिक वर्षमा २ करोड रकम विनियोजन भएको छ। यो रकमले वातावरणीय प्रभाव मुल्याङ्कन र विस्तृत परियोजना प्रतिवेदन तयार पार्न खर्च हुने आयोजनाले जनाएको छ । वातावरणीय प्रभाव मुल्याङ्कन सकिएपछि सरकारले कति जग्गा दिने हो त्यसको टुंगो लाग्ने आयोजनाले जनाएको छ । तत्काल वातावरणीय प्रभाव मुल्याङ्कन गर्ने कार्ययोजना आयोजनाको रहेको छ ।

वन तथा बातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मुल्याङ्कन स्वीकृत भएपछि मात्र अन्य कामहरु शुरु हुने छ । आईई र डिपिआर गरेपछि भौतिक संरचना तयार गर्न कम्तिमा ५ देखि ६ वर्ष लाग्नेछ। संरचना तयार भएपछि मात्र अस्पताल सञ्चालनका लागि आवश्यक तयारी हुनेछ ।

अस्पताल सञ्चालनमा ल्याउन कम्तिमा २ वर्ष लाग्ने आयोजनाको कार्यालयले जानकारी दिएको छ । अस्पताल सञ्चालन भएको ३ वर्षपछि आवश्यक मात्र डाक्टर पढाउन अनुमति पाउने छ। यसका लागि द्रुत गतिमा काम भए कम्तिमा १० वर्षपछि मात्र सुर्खेतमै डाक्टर पढाइ हुनेछ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले मेडिकल कलेज निर्माणका लागि पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय २०७६ साल जेष्ठमा स्थापना भएको हो । कर्णालीमा जनसंख्या हेरेर कम्तिमा ६ सय बेडसम्मको अस्पताल बनाउने तयारी भइरहेको जनाइएको छ ।

अस्पताल सञ्चालन गर्नुअघि गरिने विभिन्न रिपोर्टहरुको अध्यायन गरेर कति बेडको अस्पताल सञ्चालनमा ल्याउने अन्तिम टुंगो लाग्ने आयोजना निर्देशक ढकालले बताउनुभयाे । भौतिक पूर्वाधार पूर्ण रुपमा निर्माण सकिएपछि अस्पताल चलाउनका लागि प्रकृया अघि बढ्ने छ । आयोजना कार्यालयले तत्काल मेडिकल कलेज पूर्वाधार निर्माणका लागि डिपीआरको सूचना प्रकाशित गर्ने कार्ययोजना रहेको छ।

साताकाे चर्चित
सम्बन्धित