माओवादी केन्द्रको आठौं महाधिवेशन : महासचिवकाे दाबेदार काे-काे ?
माओवादी केन्द्रको आठौं महाधिवेशन : महासचिवकाे दाबेदार काे-काे ?

महाधिवेशनले चयन गरेकाे केन्द्रीय सदस्यहरुमध्येबाट पदाधिकारी चयन हुने नेकपा माओवादीले जनाएकाे छ।

    • बेल संचार

    • १९ पुष २०७८, सोमबार

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनले केन्द्रीय कमिटी चयन गरेको छ । महाधिवेशनले चयन गरेकाे केन्द्रीय सदस्यहरुमध्येबाट पदाधिकारी चयन हुने नेकपा माओवादीले जनाएकाे छ।

माओवादीले २३६ सदस्यीय केन्द्रीय सदस्य आइतबार चयन गरेको थियो । माओवादीले २ सय ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ । विवाद मिलाउन ६३ जना केन्द्रीय सदस्यको पद रिक्त राखेको छ । माओवादीले खुल्लातर्फ १३२ र सामानुपातिकतर्फ १२५ जनालाई केन्द्रीय सदस्य बनाएको हो ।

महाधिवेशनले पदाधिकारी चयनको जिम्मा निर्वाचित केन्द्रीय कमिटीलाई दिएको छ ।

माओवादीले सहमतिकै आधारमा पदाधिकारी चयन गर्ने यदि त्यसो नभए निर्वाचनमा जान सकिने बताउँदै आएको छ ।

पार्टीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहनेछन् । अध्यक्षमा निर्विकल्प देखिएका प्रचण्डलाई महासचिव छान्न सकस परेको छ । महासचिवका आकांक्षीहरु कृष्णबहादुर महरा, देव गुरुङ, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, शक्ति बस्नेतले लविङ तीब्र पारेका छन् ।

महरा यसअघि नै महासचिव भइसकेका थिए । वर्षमान भने स्वास्थ्य समस्याका कारण चीनमा उपचाररत छन् । महाधिवेशन प्रतिनिधि र छिमेकी देश चीनको पनि वर्षमानलाई महासचिव बनाउन दबाब रहेको सञ्चारमाध्यमहरुमा आइसकेका छन् ।

पार्टीभित्र बलियो पकड रहेकाले पनि महासचिवमा जनार्दनको चर्चा पनि छ । समावेशी पनि हुने र पार्टीमा योगदान पनि गरेकाले पम्फा पनि महासचिवको बलियो दावेदार हुन् । पछिल्लो समय देव गुङको पनि महासचिवको दौडमा चर्चा हुन थालेकाे छ।  पार्टीमा योगदान पुर्‍याएको र जनजाति पनि भएकाले गुरुङको महासचिव हुने सम्भावना बलियो भएको उनी निकट नेताहरु बताउँछन् । माओवादी केन्द्रमा अध्यक्षसहित १५ जना पदाधिकारी रहने व्यवस्था गरिएको छ । माओवादी केन्द्रको निर्वाचित केन्द्रीय कमिटीको बैठक केही बेरमा बस्दैछ ।

साताकाे चर्चित
सम्बन्धित