शीतलहर र हुस्सुले जनजीवनमा असर   
शीतलहर र हुस्सुले जनजीवनमा असर   

बिहान र साँझ शीतलहरसँगै बाक्लो हुस्सु लाग्ने गरेकाले नेपालगञ्जको तापक्रम घट्दै गएको छ ।

    • Bell Sanchar

    • २० पुष २०७८, मंगलवार

राँझा,
बाँकेमा तीन दिनदेखि जारी शीतलहर र हुस्सुले यहाँको जनजीवनमा असर परेको छ । बिहान र साँझ शीतलहरसँगै बाक्लो हुस्सु लाग्ने गरेकाले नेपालगञ्जको तापक्रम घट्दै गएको छ । चिसोले गर्दा दैनिक ज्यालादारी काम गरेर खानेलाई समस्या हुनाका साथै बिहान विद्यालय तथा कलेज जाने विद्यार्थी पनि मर्कामा परेका छन् ।

नेपालगञ्जमा आज न्यूनतम तापक्रम १० डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालयका इन्चार्ज पलबहादुर विकले जानकारी दिनुभयो । उहाँका अनुसार शीतलहर र हुस्सुका कारण अहिले भिजिबिलिटी ५० मिटर मात्र रहेको छ । भिजिबिलिटी कम भएका कारण नेपालगञ्ज विमानस्थलबाट कुनै पनि उडान हुन सकेका छैनन् ।चिसो बढेसँगै स्थानीय प्रशासनले ठाउँठाउँमा आगो बालेर ताप लिनका लागि तयारी गरेको छ । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले तत्काललाई पाँच हजार किलो दाउरा दिन वन कार्यालयमा पत्र पठाइसकेको जानकारी दिनुभयो ।

चिसोबाट सर्वसाधारणलाई जोगाउन बाँकेको जानकी गाउँपालिकाले ६ वटै वडामा रहेका गरिब, विपन्न, वृद्ध, अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कम्बल वितरण गरेको छ ।जानकी गाउँपालिकाको वातावरण तथा विपद् व्यवस्थापन शाखाको आयोजनामा वडा नं १ देखि वडा नं ६ सम्मका नागरिकलाई न्यानो कपडा वितरण गरिएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिनुभयो । गाउँपालिकाले सबैलाई समेटिने गरी २७० जनालाई कम्बल उपलब्ध गराएको उहाँको भनाइ थियो ।

साताकाे चर्चित
सम्बन्धित