जुम्लामा एक हजार ४०० भन्दा बढी नयाँ मतदाता थपिए  
   जुम्लामा एक हजार ४०० भन्दा बढी नयाँ मतदाता थपिए  

जिल्ला निर्वाचन कार्यालयले दुई चरणमा स्थानीय तहमा सञ्चालन गरेको अभियानअन्तर्गत एक हजार ४७६ नयाँ मतदाता थपिएका हुन्

    • बेल संचार

    • २० पुष २०७८, मंगलवार

खलङ्गा,
जुम्ला जिल्लामा एक हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयले दुई चरणमा स्थानीय तहमा सञ्चालन गरेको अभियानअन्तर्गत एक हजार ४७६ नयाँ मतदाता थपिएका हुन् । कार्यालयले छवटै स्थानीय तहबाट गत मङ्सिर १७ देखि यही पुस ९ गतेसम्म मतदाता नामावली अभियान सञ्चालन गरेको थियो ।

यसअघि जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय नराकोट सिञ्जाबाट पनि मतदाता नामावली सङ्कलन भएको जिल्ल्ला निर्वाचन कार्यालयका प्रमुख महेश शर्माले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पहिलो चरणमा मङ्सिर १७ गतेदेखि हिमा गाउँपालिका, तिला गाउँपालिका र तातोपानी गाउँपालिका तथा दोस्रो चरणमा गुठीचौर गाउँपालिका, कनकासुन्दरी गाउँपालिका र पातारासी गाउँपालिकामा मतदाता नामावली सङ्कलन गरिएको निर्वाचन कार्यालयका प्रमुख शर्माले बताउनुभयो ।

कार्यालयका अनुसार पातारासीबाट ३२३, हिमाबाट १३७, तातोपानीबाट ३००, गुठीचौरबाट ३०८, कनकासुन्दरीबाट ११५ र तिला गाउँपालिकाबाट २९३ मतदाता थपिएका छन् । तीमध्ये महिलाको सङ्ख्याभन्दा बढी रहेको कार्यालयले जनाएको छ ।

यसैगरी, कार्यालयबाट ३०४ र जिप्रकाबाट ४५१ तथा इलाका प्रशासन कार्यालय नराकोट सिञ्जाबाट २१३ मतदाता थपिएका छन् । बाहिरी जिल्लाका १३१ जनाले जिल्ला निर्वाचन कार्यालयबाट नामावली दर्ता गराएका छन् । “दर्ता भएका विवरण रुजु गर्ने काम भइरहेको छ, नाम दोहोरिएको भए हट्छ”, कार्यालय प्रमुख शर्माले भन्नुभयो, “मतदाता नामावली सङ्कलनका लागि छवटा दर्तास्थल राखिएका थियो । प्रत्येक महिनाको मतदाता सङ्कलनको रिपोर्ट केन्द्रीय कर्यालयमा पठाउने गरेका छाँै । जिल्लाका स्थानीय तहमा केन्द्रबाटै १० दिनका दरले मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम आयोजना गरिएको कार्यालय प्रमुख शर्माले बताउनुभयो ।

जिल्लाको कूल मतदाता सङ्ख्या ६८ हजार ११४ रहेका छन् जसमा पुरुष ३५ हजार ६५६ र महिला ३२ हजार ४५८ जना रहेको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । सो तथ्याङ्क हेर्दा मतदाता नामावली सङ्कलनमा जुम्लामा मतदाताको निराशजनक सहभागिता देखिएको छ ।

स्थानीय तहको पदाधिकारीको पदावधि आगामी जेठ ५ मा सकिँदैछ । संविधानअनुसार पदावधि सकिएको बढीमा ६ महिनाभित्र निर्वाचन गरिसक्नुपर्ने भएकाले निर्वाचन आयोगले तयारी थालेको हो । कर्णाली प्रदेशमा २९ हजार २२८ जना मतदाता थपिएको निर्वाचन अयोगले जनाएको छ । आयोगले २०७४ को प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुनुभन्दा चार महिनाअघि मतदाता नामावली सङ्कलन अभियान चलाइएको थियो ।

साताकाे चर्चित
सम्बन्धित