हाइटीका प्रधानमन्त्री हेनरिकाे हत्या प्रयास
हाइटीका प्रधानमन्त्री हेनरिकाे हत्या प्रयास
    • बेल संचार

    • २१ पुष २०७८, बुधबार

हाइटीका प्रधानमन्त्री एरिएल हेनरीको हत्या प्रयास भएको छ । बन्दुकधारीले शनिबार राष्ट्रिय स्वतन्त्रता दिवसको अवसरमा भएको कार्यक्रममा प्रधानमन्त्री हेनरीको हत्या प्रयास गरेको हाइटीका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हाइटीको उत्तरी शहर गोनाइवेसस्थित चर्चमा भएको कार्यक्रममा प्रधानमन्त्री सहभागी थिए । सोही क्रममा बन्दुकधारीले गोली प्रहार गरेका हुन् ।

 

अनलाइनमा पोस्ट गरिएको भिडियोमा प्रधानमन्त्री र उनका सुरक्षाकर्मीहरु गोली छल्दै गाडी तर्फ गएको देखिएको छ ।

गएको जुलाईमा हाइटीका राष्ट्रपति जोभेनल मोइजको हत्या भएको थियो । त्यसपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । तर पनि बन्दुकधारीले प्रधानमन्त्रीलाई निशाना बनाएका हुन् ।

हाइटीमा आपराधिक समूहले ग्यासको ठूलो मात्रा नियन्त्रणमा लिँदा वितरण प्रणाली प्रभावित भएको छ । प्रधानमन्त्री हेनरीले आपराधिक समूहलाई सखाप पार्ने बताउँदै आएका छन् ।

हत्या प्रयासमा आतंकवादी समूहको हात रहेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । बन्दुकधारी र सुरक्षाकर्मीबीच भएको गोली हानाहानमा एकजनाको ज्यान गएको र अरु दुईजना घाइते भएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

साताकाे चर्चित
सम्बन्धित