राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षराजेन्द्र लिङ्देनले पुस २७ गते पृथ्वी जयन्तीका दिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउन सार्वजनिक बिदा दिनुपर्ने बताएको छ । राप्रापा प्रदेश नं २ समितिद्वारा आज जनकपुरधाममा आयोजित प्रदेशस्तरीय आमसभामा उनले भने, “हामीले पृथ्वी जयन्तीका दिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउन र पुस २७ गते सार्वजनिक बिदा दिन प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छौँ ।”
सरकारले अहिलेसम्म राष्ट्रिय एकता दिवस मनाउन र सार्वजनिक बिदा दिन कन्जुस्याइँ गरिरहेको छ भन्दै उहाँले यदि सार्वजनिक बिदाको घोषणा गरिएन भने आफ्नो पार्टी त्यही दिनदेखि देशव्यापी आन्दोलनमा जाने बताए । “पृथ्वीजयन्ती कुनै पार्टी र विचार विशेषको विषय होइन”, अध्यक्ष लिङ्देनले भने, “यो वाद र विचारभन्दा माथिको कुरा हो, त्यसैले यसलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउन कुनै कन्जुस्याइँ गर्नुहुँदैन ।”